नवकान्तिपुर संवाददाता
काठमाडौं, १० मंसिर ।
इंग्लिस क्लब टोटेनहम युरोपा कन्फरेन्स लिग फुटबलमा पराजित भएको छ । बिहीबार राति भएको खेलमा टोटेनहम स्लोभानियाको मुरा एफसीसँग २-१ ले पराजित हुन पुग्यो ।
निकै प्रतिस्पर्धात्मक खेलमा खेलको ११ औं मिनेटमा टोमी होर्भाटले गोल गर्दै मुरा एफसीलाई अग्रता दिलाएका थिए । तर खेलको ३१ औं मिनेटमा टोटेनहमका रायनले रातो कार्ड पाउदै मैदानबाट बाहिरिएपछि टोली १० खेलाडीमा समेटिएको थियो । पहिलो हाफ १-० मा सकिएको खेलमा दोस्रो हाफको ७२ औं मिनेटमा टोटेनहमका ह्यारी केनले गोल गर्दै खेललाई बराबरीमा ल्याए ।
त्यसपछि खेलको इन्जुरी समयमा अमादेज मारोसाले गोल गर्दै मुरालाई २-१ को जित दिलाए । जितसँगै ५ खेलमा ३ अंक जोडेको मुरा समूह ‘जी’ को पुछारमा छ भने ५ खेलमा ७ अंक जोडेको टोटेनहम समूहको तेस्रो स्थानमा रहेको छ । त्यस्तै युरोपा लिग फुटबलअन्तर्गतनै बिहीबार राति भएको समूह ‘सी’ अन्तर्गतको खेलमा लेस्टर सिटीले लेजिया वार्सलाई ३-१ ले पराजित गरेको छ । जितसँगै लेस्टर ५ खेलमा ८ अंक जोड्दै समूहको शीर्ष स्थानमा उक्लिएको छ भने छ अंक जोडेको लेजिया पुछारमा रहेको छ ।