नवकान्तिपुर संवाददाता
काठमाडौं, १० मंसिर ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेकपा (एमाले) र अध्यक्ष केपी शर्मा ओलीको तारिफ गरेका छन् । आज (शुक्रबार) बाट चितवनको नारायणी नदी किनारमा सुरु भएको एमालेको १० औं महाधिवेशनको उदघाटनसत्रमा सम्बोधन गर्दै उनले ओलीको तारिफ गरेका हुन् ।
ओली एक राष्ट्रवादी सोच भएको नेता रहेको भन्दै थापाले ओलीकै अडान र योजनाका कारण अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिष्ठा बढाउन सक्षम भएको बताए । थापाले भने, ‘देशले एमालेबाट साहासिक निर्णयको अपेक्षा गरेको छ, केपी ओलीजस्तो दृढ अडान र राष्ट्रबादी सोच बोकेको नेताले नेतृत्वको गरेको पार्टीले नै देशलाई संकटबाट मुक्त गराउन सक्नेछ ।’
त्यस्तै थापाले तराई मधेसमा देखिएको पृथकतावादी आन्दोलन र सशस्त्र संघर्षको बाटोमा रहेका विप्लव नेतृत्वको नेकपालाई शान्तिपूर्ण बाटोमा ल्याउने ओलीको कार्य प्रसशंसायोग्य रहेको बताए । नेपालको गुमेको भूभागसहितको चुच्चे नक्सा प्रकाशन गरी संविधानमा उल्लेख गर्न ओलीले महत्वपूर्ण भूमिका खेलेको भन्दै प्रशंसा गरे ।
थापाले अध्यक्ष ओलीसँग एउटै सरकारमा रहेर काम गरेको अनुभव रहेको बताउदै उनले भारतीय नाकाबन्दीको स्मरण गर्दै ओलीले राष्ट्रिय स्वाभिमानमा एक इन्च पनि आँच आउन नदिन भारतीय नाकाबन्दीलाई समाप्त पार्न नेपाल सफल भएको बताए । उनले भने,‘पार्टीभित्रको आन्तरिक कलहले गर्दा होला, सायद जनतालाई दिएको आश्वासनअनुसार नेकपाले काम गर्न सकेन् । धेरै विवाद र असफलताका बावजुद दुई वटा कामको निम्ति केपी ओली र एमालेलाई यो देशले सधैं सम्झिरहनेछ ।’
योजनाबद्ध र संगठितरुपमा गरिदै आएको धर्म परिवर्तनले हामी नेपालीको सनातन धर्मलाई समाप्त पार्ने षडयन्त्र भइरहेको बताउदै अध्यक्ष थापाले देशभित्र सामान्य जागिर पाउन नसक्दा ४० लाख बढी नेपाली युवाहरु अरवको मरुभूमिमा रगत पसिना बगाउन बाध्य भएको बताए । नेपालमा अहिले बाह्य शक्तिहरुको चलखेल र प्रभाव तिव्ररुपले बढेर गएको उनले टिप्पणी गरे ।

