निर्णायक खेलमा आज यूएईविरुद्ध खेल्दै नेपाली महिला टोली

आईसीसी महिला ट्वान्टी–२० विश्वकपको एसियाली छनोट प्रतियोगितामा नेपाली महिलो टोलीले आज युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्ध खेल्दैछ । नेपाल, हङकङ र यूएईका लागि आजको खेल निर्णायक हुनेछ ।

६ टोली सहभागी प्रतियोगितामा शीर्ष एक टोलीले मात्र ग्लोबल क्वालिफायरमा स्थान पक्का गर्नेछ । त्यसकारण आजको खेल रोमाञ्चक हुनेछ । कारण हो, अघिल्लो चरण पुग्ने समीकरण ।



चार खेलमा सतप्रतिशत नतिजा निकालेको यूएई ८ अंकका साथ शीर्ष स्थानमा छ । एक खेलमा पराजित नेपाल र हङकङ समान ६ अंकका साथ क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । आज शीर्ष दुई टोली यूएई र नेपालले प्रतिस्पर्धा गर्दा हङकङले सबभन्दा कमजोर टोली कुवेतविरुद्ध खेल्नेछ ।

यूएईले जित्यो भने सिधै ग्लोबल क्वालिफायरमा स्थान पक्का गर्नेछ । तर, यूएईलाई नेपालले पराजित गरेको खण्डमा हङकङको सम्भावना पनि उत्तिकै हुन्छ । हङकङले कुवेतलाई पराजित गरेमा तीन टोलीको समान आठ अंक हुन्छ ।

त्यसैले नेपाललाई आज जितेर मात्र हुँदैन । राम्रो रनरेटमा जित्नु आवश्यक छ । अनिमात्र पहिलो पटक ग्लोबल क्वालिफायर खेल्ने नेपाली महिला टोलीको सपना पूरा हुन्छ । नभए यसपटक पनि पहिलो एसियाली छनोटबाटै बाहिरिनेछ ।

सम्बन्धित समाचार