नवकान्तिपुर संवाददाता
काठमाडौं, १२ मंसिर ।

सहमतिमै नेतृत्व छान्ने विषयमा बाधक बनिरहेका एमाले उपाध्यक्ष भीम रावलले ससर्त अध्यक्षको उम्मेद्वारी फिर्ता लिने बताएका छन् । सर्वसम्मत वरिष्ठ उपाध्यक्ष पाए अध्यक्षको दाबी छोड्न सक्ने सन्देश नेता रावलले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पठाएका छन्।
ओली निकट नेताहरुसँग शनिबार राति भएको छलफलका क्रममा नेता रावलले सर्वसम्मत वरिष्ठ उपाध्यक्ष पाएमा अध्यक्षको होडबाट पछि हड्ने बताएको स्रोतले जानकारी दिएको छ। एमालेको १०औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनको सर्वाधिकार ओलीलाई दिइएको छ। तर रावलले अध्यक्षमा दावेदारी छोडेका छैनन्।
उनले वरिष्ठ उपाध्यक्षको दाबीसहितको सन्देश पठाएपछि ओलीलाई झनै सकस हुने देखिएको छ। ईश्वर पोखरेल र सुवास नेम्वाङ यसअघि नै वरिष्ठ उपाध्यक्षको होडमा छन्। रावलको प्रस्तावबारे ओलीले आफू निकटकासँग छलफल गरिरहेका छन् ।

