नवकान्तिपुर संवाददाता
काठमाडौं, १२ मंसिर।

देशका विभिन्न स्थानबाट मृत अवस्थामा पाँच जना फेला परेका छन् । सल्यान, शारदा नगरपालिका-५ रानीकोट गैरागाउँ बस्ने ३० वर्षीय शेर बहादुर चन्द आफ्नै घर नजिकैको बाँसको झ्याङमा शुक्रबार मृत अवस्थामा फेला परेका हुन् ।
घटना शंकास्पद देखिएकोले जिल्ला प्रहरी कार्यालय सल्यानबाट खटिएको प्रहरीले सोधपुछ तथा आवश्यक अनुसन्धानका लागि सोही ठाउँ बस्ने २ जनालाई नियन्त्रणमा लिएको छ । त्यस्तै धादिङ, बेनिघाट रोराङ गाउँपालिका-३ शितलबजारस्थित त्रिशुली नदीको बिच भागमा रहेको ढुङगामा हाल नाम, थर, वतन नखुलेका पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
यस्तै बागलुङ, बडीगाड गाउँपालिका-५ स्थित सामुदायिक जंगलमा सोही गाउँपालिका-४ जलजला बस्ने ३२ वर्षीया मिना काउचा शनिबार मृत अवस्थामा फेला परेकी छिन् । त्यसैगरी सिन्धुपाल्चोक, मेलम्ची नगरपालिका-१३ ढाडबेसी बस्ने ८४ वर्षीया ठुलीमाया दनुवार घर नजिकैको इँटाभट्टाको कम्पाउण्डको शौचालय छेउमा शनिबार मृत अवस्थामा फेला परेकी छिन् ।
यसैगरी बारा, पचरौता नगरपालिका-२ ललचन्हा बस्ने ४५ वर्षीय समशेर बैठा आफ्नो घर नजिकै रहेको आलु खेतमा शनिबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
