नुवाकोट काँग्रेसमा केसी परिवारको विरासत समाप्तिको दिशातिर !

नेपाली काँग्रेस नुवाकोटको जिल्ला सभापतिमा रमेशकुमार महत विजयी भएका छन् । नेपाली काँग्रेसको आसन्न १४औं महाधिवेशनमा नुवाकोट जिल्लाबाट डा. केदारनसिंह केसी र रमेशकुमार महतले सभापतिमा प्रतिस्पर्धा गरेका थिए । हालै सम्पन्न मतगणनामा आफ्ना प्रतिस्पर्धी डा. केदारनसिंह केसीलाई झिनो १० मतको अन्तरले पराजित गर्दै रमेशकुमार महत सभापतिमा विजयी भएका हुन् ।

जम्मा १ हजार ७ सय ६८ मादातामध्ये १ हजार ७ सय ४७ मत खसेको थियो । विजयी नेता महत नेपाली काँग्रेस नुवाकोटका महासमिति सदस्य तथा १३ औं महाधिवेशनका प्रत्यासी उम्मेद्वार थिए । उनलाई नेपाली काँग्रेसका नेताहरू रामशरण महत, प्रकाशशरण महत र नुवाकोटबाट निर्वाचित सांसद बहादुरसिंह लामाको साथ रहेको थियो ।



सभापतिका उपविजेता डा. केदारनसिंह केसीलाई केन्द्रीय सदस्य अर्जुननसिंह केसी र पूर्व सभापति
जगदीश्वरनसिंह केसीको साथ रहेको थियो । यससँगै नुवाकोटमा केसी परिवारको विरासत ढलेको छ । जिल्लाको २ क्षेत्र र ४ प्रदेश तथा जिल्लामा समेत महत र लामा समूहले कब्जा जमाएपछि जगदीश्वरनसिंह केसीको उदाउँदै गरेको राजनीतिक छवि पनि अन्योलग्रस्त हुनपुगेको अनुमान लगाउन सकिन्छ ।

नुवाकोटको राजनीतिलाई पूरै देश भरिका काँग्रेसजनले हेरिरहेका परिप्रेक्ष्यमा एउटै गुटका दुई प्रभावशाली नेताहरू केसी र महतहरूको भाइ भतिजको भिडन्तमा एउटा गुटले अर्को गुटलाई पुरै निस्तेज पारेको छ ।

प्रजातान्त्रिक पद्धतिमा पराजित पक्षले हार स्वीकार गर्नुको विकल्प छैन भने विजयी पक्षले दम्भ र घमण्डबाट माथि उठेर उदार भावले सबैलाई समेटन सक्नुपर्छ । अब नुवाकोट काँग्रेसमा जित्ने पक्षले पराजित पक्षलाई कसरी समेटेर अगाडि बढ्छ, आगामी दिनहरूले देखाउने छन् ।

सम्बन्धित समाचार