एमाले महाधिवेशनः ओलीले प्रस्ताव गरे १९ जना पदाधिकारी, कुन पदमा कसलाई अवसर ?

नेकपा एमालेको १०औं महाधिवेशनअन्तर्गत दोस्रो दिनको बन्दसत्रबाट पदाधिकारीको नाम पनि अनुमोदन भएको छ। सोमबार बिहान साढे ३ बजे सकिएको बन्दसत्रमा अध्यक्ष केपी शर्मा ओलीले अध्यक्षमा आफ्नोसहित १९ जना पदाधिकारीको नाम पेस गरेका थिए।

ओलीले पदाधिकारीहरुमा अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष १, उपाध्यक्ष ६, महासचिव १, उपमहासचिव ३ र सचिव ७ जनाको नाम प्रस्ताव गरेका थिए। अध्यक्षमा केपी शर्मा ओलीसहित वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल तथा उपाध्यक्षहरुमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा बादल, विष्णु पौडेल र सुवासचन्द्र नेम्वाङको नाम अनुमोदन भएको छ।



यस्तै, महासचिवमा शंकर पोखरेलको नाम अनुमोदन भएको छ। उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमालको नाम अनुमोदन भएको छ।

सचिवहरुमा टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट र पद्मा अर्यालको नाम अनुमोदन भएको छ। निर्वाचनमा जोड दिँदै आएका भीम रावल र भनश्याम भुसाल पदाधिकारीमा अटेका छैनन् । रावलले अध्यक्षमा उम्मेद्वारी दिने अडान नछोडेपछि अध्यक्षमा भने मतदान हुने सम्भावना छ ।

त्यसअघि बन्दसत्रमा केन्द्रीय कमिटीका ३०१ जनाको नाम पेस भएको थियो। केन्द्रीय कमिटीका सदस्यहरुको नाम पेस गरेपछि ओलीले अनुमोदनका लागि महाधिवेशन प्रतिनिधिहरुलाई ताली बजाउन भनेका थिए। ओलीको प्रस्तावअनुसार महाधिवेशन प्रतिनिधिहरुले ताली बजाएर केन्द्रीय कमिटीका ३०१ जनाको नाम पनि अनुमोदन गरेका थिए।

ओलीको प्रस्तावअनुसार बन्दसत्रबाट अनुमोदन भएका केन्द्रीय सदस्य र पदाधिकारीहरुलाई निर्वाचन आयोगले भने निर्वाचित भएको घोषणा गरेको छैन। एमालेको केन्द्रीय निर्वाचन आयोगले आज बिहान ८ बजेदेखि उम्मेदवारी दर्ता गर्नेगरी निर्वाचनको कार्यतालिका प्रकाशन गरेको छ।

सम्बन्धित समाचार