नवकान्तिपुर संवाददाता
काठमाडौं, १४ मंसिर ।

नेकपा एमालेका नेता भीम रावलले उमेदवारको नामावलीमा त्रुटि रहेको जनाएका छ । चितवनमा जारी दशौं महाधिवेशनको मतदानका लागि तयार गरिएको उमेदवारको सूचीमा त्रुटि रहेको उनले बताएका हुन् ।
‘पदाधिकारीमा उमेदवार दिएका नेताहरुको उमेदवारी सदस्यमा पनि स्वत रहेको देखिएको छ,’ अध्यक्षका उमेदवार भीम रावलले भने, ‘म अध्यक्षको उमेदवार हुँ । तर, मैले सदस्यमा पनि उमेदवारी दिएको उमेदवारको सूचीमा छ । यो गलत हो ।’ आफूलाई मतदान नगर्न आग्रह गरिएको पर्चा बाँडिएकोमा पनि रावलले आक्रोश पोखे ।
सदस्यता नवीकरण, वितरण र प्रतिनिधि चयनमा व्यापकरुपमा गलत काम भएको उनको आरोप छ । यद्यपि, आफूले मतपरिणामलाई सहज रुपमा लिने उनले बताए । प्रतिस्पर्धा गर्न पाउने अधिकार आफूले पार्टीमा स्थापित गरेको रावलले बताएका छन् ।

