कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ विश्वभर फैलने डब्ल्यूएचओको चेतावनी

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले विश्वभरि नै कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को सङ्क्रमण हुनसक्ने चेतावनी दिएको छ । डब्ल्यूएचओले यो भेरियन्टले विश्वका केही क्षेत्रमा गम्भीर परिणाम निम्त्याउन सक्ने समेत चेतावनी दिएको छ ।

सङ्गठनका प्रमुख डाक्टर टेड्रोस एड्हानोम गेब्रियसिस गरिब देशहरूमा खोप पठाउनका लागि पुनः आह्वान गरे। यो महिनाको सुरुमा ‘ओमिक्रोन’ दक्षिण अफ्रिकामा पत्ता लागेको थियो । प्रारम्भिक प्रमाणका आधारमा यसको सङ्क्रमण जोखिम धेरै रहेको पाइएको छ ।



भेरियन्टबारे छिट्टै खबर गरिएको भनेर दक्षिण अफ्रिकाको प्रशंसा पनि गरिएको बीबीसीले जनाएको छ । डाक्टर टेड्रोसले विश्वभरका वैज्ञानिकले नयाँ भेरियन्ट उच्च सङ्क्रामक छ या छैन, पुनः सङ्क्रमण हुने खतरा कति छ र खोपले के कस्तो काम गर्छ भनेर पत्ता लगाउन अनुसन्धान भइरहेको बताए ।

नयाँ भेरियन्ट दक्षिण अफ्रिकासहित बेलायत, क्यानडा, पोर्चुगल, बेल्जियम र नेदरल्यान्डलगायत देशमा देखिइसकेको छ ।नयाँ भेरियन्ट देखापरेपछि अमेरिका, बेलायत र युरोपेली सङ्घले दक्षिण अफ्रिकी देशका नागरिकमाथि यात्रा प्रतिबन्ध लगाएकोमा दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामापोसाले आलोचना गरेका छन्। इजरायल, जापान र अस्ट्रेलियाले पनि सीमामा कडाइ गरेका छन् ।

सम्बन्धित समाचार