कोइरालालाई कमजोर देखाउन देउवा र पौडेल पक्षबीच तालमेल

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत मोरङमा भइरहेको जिल्ला अधिवेशनमा केन्द्रीय सभापतिका आकांक्षी डा. शेखर कोइरालालाई कमजोर देखाउन सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच चुनावी तालमेल हुने भएको छ ।

पहिलो चरणमा नतिजा नआएपछि मंगलबार भइरहेको दोस्रो चरणको निर्वाचनमा देउवा र पौडेल पक्षबीच तालमेल हुने भएको छ । मंसिर १२ गते भएको मतदानमा सभापतिका ३ जना उम्मेदवारमध्ये कसैले पनि ५१ प्रतिशत मत ल्याउन नसकेपछि आज पुनः मतदान हुँदैछ ।



पहिलो चरणमा संस्थापन देउवा पक्षका दिलिप गच्छदार, संस्थापनइतर कोइराला पक्षका डिकबहादुर लिम्बु र कृष्णप्रसाद सिटौला पक्षका यदु विष्टबीच प्रतिस्पर्धा भएको थियो । सभापतिका आकांक्षी डा। शेखर कोइरालाको गृहजिल्ला मोरङमा उनी समर्थित उम्मेदवार लिम्बूलाई पराजित गर्न देउवा, पौडेल, सिटौला पक्ष सबै एकठाउँमा आएका छन् ।

केन्द्रमा संस्थापनइतर पक्षका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला लगायतले देउवा पक्षका उम्मेदवार दिलिप गच्छदारलाई जिताउन चुनावी तालमेल गरेका छन् । कोइराला गृहजिल्लामा नै कमजोर रहेको सन्देश दिन सबै नेताहरू एकठाउँमा उभिएका स्रोतले जनाएको छ ।

सम्बन्धित समाचार