नवकान्तिपुर संवाददाता
काठमाडौं, १४ मंसिर ।

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ५ जना फेला परेका छन् । गुल्मी, दरबार गाउँपालिका-४ वीरबास बस्ने ५१ वर्षीय पुनाराम बिक आफ्नै घरनजिक खालीघरमा सोमबार मृत अवस्थामा फेला परेका हुन् ।
त्यस्तै बाँके, कोहलपुर नगरपालिका-१२ चप्परगौडीस्थित बजारको ढल निकास हुने कलबटभित्र हाल नाम, थर, वतन नखुलेका करिब ३५ वर्षीय पुरुष सोमबार मृत अवस्थामा फेला परेका छन् । यस्तै भोजपुर, साल्पासिलिछो गाउँपालिका-६ ढाडेगाउँ बस्ने ६७ वर्षीय खड्ग बहादुर राई सोहीठाउँस्थित छुम्लुङ खोलामा सोमबार मृत अवस्थामा फेला परेका छन् । आइतबार भकिम्लो टिप्न जाने भनि घरबाट निस्किएका उनी फर्कि नआएपछि खोजी गर्नेक्रममा उक्त खोलामा उनको शव फेला परेको हो ।
त्यसैगरी ललितपुर, ललितपुर महानगरपालिका-२८ हरिसिद्धि पासाटोल डेरा गरी बस्ने रामेछाप चिसापानी घर भएका ४५ वर्षीय खडक बहादुर मगर आफ्नै कोठामा आइतबार मृत अवस्थामा फेला परेका छन् । यता झापा, भद्रपुर नगरपालिका-१ बस्ने ४५ वर्षीय रविन शिव लिम्बु कचनकवल गाउँपालिका-५ डुकडुकीस्थित धान खेतमा आइतबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
