नवकान्तिपुर संवाददाता
काठमाडौं, १५ मंसिर ।

सरकारले नेपाल प्रहरीमा तीन वटा पद थप्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीमा तीन वटा पद थप गर्ने निर्णय गरेको हो ।
बैठकले वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई), सहायक हवल्दार र वरिष्ठ हवल्दार पद थपेको हो । तल्लो दर्जामा काम गर्ने कर्मचारीको मनोबल वृद्धिका लागि यी पद थपिएको हो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले तीन वटा पद थप गर्ने गृहको प्रस्तावलाई स्वीकृत गर्दै प्रहरी नियमावली संशोधन गरेको हो ।
गृहमन्त्री बालकृष्ण खाँडले पेश गरेको ‘प्रहरी ९ औं संशोधन नियमावली २०७८’ लाई मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए । स्वीकृत भएको नियमवाली राजपत्रमा प्रकाशित भएपछि कार्यान्वयनमा आउनेछ । यसअघि प्रहरीमा सईबाट निरीक्षक तथा जवानबाट हवल्दारमा बढुवा हुन लामो समय लाग्ने गरेको थियो ।
