नवकान्तिपुर संवाददाता
काठमाडौं, १५ मंसिर ।
पछिल्लो चौबीस घण्टामा नेपालमा ३१६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने तीन जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा १२ हजार ७२७ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा १० हजार ९१९ जनाको पीसीआर परीक्षण गर्दा २८५ जना र एक हजार ८०८ जनाको एन्टिजेन परीक्षण गर्दा ३१ जनामा कोरोना पुष्टि भएको हो ।
त्यस्तै, चौबीस घण्टामा ३ जनाको कोरोनाका कारण मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या ११ हजार ५२९ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज २५९ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ८ लाख ३ हजार १६८ जना पुगेको छ ।
नेपालमा हाल सक्रिय संक्रमितको संख्या ६ हजार ९५४ रहेको छ । जसमा ६ हजार ६१० जना होम आइसोलेसनमा छन् भने ३४४ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै १२० संक्रमित आईसीयूमा र ३७ जना भेन्टिलेटरमा उपचाररत् छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ८ लाख २१ हजार ६५१ र एन्टिजेन विधिबाट ९५ हजार ५२९ जना पुगेको छ ।