नवकान्तिपुर संवाददाता
काठमाडौं, १७ मंसिर ।
इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेड र टोटेनहम विजयी भएका छन् । बिहीबार राति भएको खेलमा युनाईटेडले आर्सनललाई ३-२ ले पराजित गरेको हो भने टोटेनहमले ब्रेन्टफोर्डलाई २-० ले हराएको हो ।
युनाईटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको निकै प्रतिस्पर्धात्मक खेलमा खेलको १३ औं मिनेटमा आर्सनलका इमिल स्मिथले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए । तर, खेलको ४४ औं मिनेटमा युनाईटेडका ब्रुनो फर्नान्डेसले गोल गर्दै खेललाई बराबरीमा ल्याए । पहिलो हाफ १-१ को बराबरीमा सकिएको खेलमा दोस्रो हाफको ५२ औं मिनेटमा क्रिष्टियानो रोनाल्डोले गोल गर्दै युनाईटेडलाई २-१ को अग्रता दिलाए ।
यो गोलसँगै उनले आफ्नो गोल संख्या ८०० पुर्याएका छन् । त्यस्तै खेलको ५४ औं मिनेटमा आर्सनलका मार्टिन ओडेगार्डले गोल गर्दै खेललाई २-२ को बराबरीमा ल्याए । त्यस्तै व्यक्तिगत दोस्रो गोल गर्ने क्रममा, खेलको ७० औं मिनेटमा रोनाल्डोले पेनाल्टीमार्फत गोल गर्दै युनाईटेडलाई ३-२ को जित दिलाए । जितसँगै युनाईटेड १४ खेलमा २१ अंक जोड्दै तालिकाको सातौं स्थानमा छ भने २३ अंक जोडेको आर्सनल पाँचौं स्थानमा रहेको छ ।
त्यसैगरी गए राति भएको अर्को खेलमा टोटेनहमले ब्रेन्टफोर्डलाई २-० ले पराजित गरेको छ । टोटेनहमको घरेलु मैदानमा भएको खेलमा खेलको १२ औं मिनेटमा ब्रेन्टफोर्ड कानोसले आत्मघाती गोल गर्दै टोटेनहमलाई अग्रता दिलाएका थिए । पहिलो हाफ १-० मा सकिएको खेलमा दोस्रो हाफमा टोटेनहमले थप एक गोल गर्यो ।
खेलको ६५ औं मिनेटमा सन ह्युङ मिनले गोल गर्दै टोटेनहमलाई २-० को सहज जित दिलाए । जितसँगै टोटेनहम १३ खेलबाट २२ अंक जोड्दै तालिकाको छैटौं स्थानमा छ भने समान खेलमा १६ अंक जोडेको ब्रेन्टफोर्ड १२ औं स्थानमा रहेको छ ।