राप्रपा महाधिवेशन : कसको पल्ला भारी ?

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशन काठमाडौंमा जारी छ । नेकपा एमालेको महाधिवेशन सम्पन्न भएको भोलिपल्ट नै राप्रपाको महाधिवेशन सुरू भएको हो ।

राप्रपाले यस महाधिवेशनलाई एकता महाधिवेशनको रूपमा व्याख्या गरेको छ । भदौ १५ गतेदेखि राजधानीको भृकुटीमण्डपमा सुरू भएको महाधिवेशन आज सकिने भनेता पनि नयाँ नेतृत्व चयनका लागि संशोधित निर्वाचन तालिका प्रकाशन गरिएको छ । विहीबार राति नै ४ हजार ४ सय ७१ जना महाधिवेशन प्रतिनिधिको सूची प्रकाशित गरेको निर्वाचन समितिले आजदेखि मनोनयन दर्तालगायतका बाँकी प्रक्रिया सुरू गरेको छ । त्यस्तै निर्वाचन समितिले साढे ११ बजेदेखि साढे १ बजेसम्म उम्मेद्वारी दर्ताको समय दिइएको छ । दुई बजे उम्मेदवारको प्रथम नामावल्ऽी प्रकाशन, २ देखि ४ बजेसम्म उम्मेदवारमाथि दावी विरोध र ५ बजे अन्तिम नामावली प्रकाशन गरिनेछ ।



हाल राप्रपामा तीन अध्यक्ष रहेका भए पनि यस महाधिवेशनमा एकल अध्यक्षको टुङ्गो लगाउनेछ । मतदान भने भोलि (शनिबार) बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म हुनेछ । मतदान सम्पन्न भएसँगै मतगणनाको प्रक्रिया सुरू हुने जनाइएको छ । राप्रपाको अध्यक्षमा उम्मेद्वारी दर्ताका लागि १ लाख, उपाध्यक्षमा ७५ हजार महामन्त्रीमा ५० हजार र केन्द्रीय सदस्यमा १५ हजार शुल्क तोकिएको छ । नयाँ नेतृत्वको लागि कमल थापा र राजेन्द्र लिङ्देनबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

यसैबीच थापा प्यानलबाट बुद्धिमान तामाङ, विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान उपाध्यक्षको उम्मेदवार बन्ने भएका छन् भने महिला उपाध्यक्षमा रोशन कार्कीको उम्मेद्वारी रहेको छ । त्यस्तै महामन्त्रीमा भुवन पाठक, भास्कर भद्रा र कुन्ती शाहीको नाम टुङ्गो लागेको छ ।

लिङ्देन प्यानलबाट उपाध्यक्षमा विक्रम पाण्डे, दीलविकास राजभण्डारी, रामचन्द्र राय र लीला श्रेष्ठको नाम टुङ्गो लागेको छ भने महामन्त्रीमा डा. धवलशमशेर राणा, श्याम तिमिल्सिना र रेखा थापाको नाम टुङ्गो लगाएको जानकारी प्राप्त भएको छ । विक्रम पाण्डेको नाम भने दुबै पक्षले आ–आफ्ना प्यानलमा राखेका छन् ।

यसैबीच यस महाधिवेशनको लागि पूर्व राजा ज्ञानेन्द्र शाहले पनि चासो राखेको देखिएको समाचार बाहिरिएको छ । तर, राजा निकट स्रोतले भने यसको खण्डन गर्दै पूर्वराजाले कुनै एउटा पार्टीविशेषबारे भन्दा पनि समग्र देशको चिन्ता र चासो राखेको बताएका छन् । निर्मल निवास स्रोतका अनुसार महाधिवेशनमा प्रतिस्पर्धी मैदानमा रहेका दुबै पक्षका नेताहरूले केहीअघि छुट्टाछुट्टै रूपमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेटेको बताएका छन् । भेटघाटका क्रममा शाहले दुबै पक्षलाई शुभेच्छा दिएको तर कसैलाई पनि समर्थन नगरेको स्रोतले बतायो ।

सम्बन्धित समाचार