राप्रपा अधिवेशन : उम्मेदवारी दर्ता आज, निर्वाचन भोलि

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को आज (शुक्रबार) नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता हुँदैछ । बिहान साढे ११ देखि साढे १ बजेसम्म उम्मेदवारी दर्ताको लागि समय निर्धारण भएको निर्वाचन समितिका संयोजक हरिबहादुर बस्नेतले बताएका छन् ।

त्यस्तै निर्वाचन समितिले २ बजे उम्मेदवारको प्रथम नामावली प्रकाशन, २ देखि ४ बजेसम्म उम्मेदवारमाथि दावी विरोध र ५ बजे अन्तिम नामावली प्रकाशन गरिने जानकरी दिएको छ । महाधिवेशनमा ४ हजार ४ सय जना मतदाता छन् । अध्यक्षको लागि कमल थापा र राजेन्द्र लिङ्देन चुनावी मैदानमा उत्रदै छन् ।



यसैबीच राप्रपाको नयाँ नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा थापा र लिङ्देनले पदाधिकारीमा लड्ने उम्मेदवारको टुंगो लगाएका छन् ।थापा प्यानलबाट बुद्धिमान तामाङ, विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान उपाध्यक्षको उम्मेदवार बन्ने भएका छन् । यस्तै महिला उपाध्यक्षमा रोशन कार्की उम्मेदवार रहेकी छन्। महामन्त्रीमा भुवन पाठक, भास्कर भद्रा र कुन्ती शाहीको नाम टुंगो लागेको छ ।

यसैगरी लिङ्देन प्यानलबाट उपाध्यक्षमा विक्रम पाण्डे, दीलविकास राजभण्डारी, रामचन्द्र राय र लीला श्रेष्ठको नाम टुंगो लागेको छ भने महामन्त्रीमा डा धवल शम्शेर राणा, श्याम तिमिल्सिना र रेखा थापाको नाम टुंगो लागेको छ,। विक्रम पाण्डेको नाम भने दुबै पक्षले प्यानलमा राखेका छन् । राप्रपाको नयाँ नेतृत्व चयनका लागि शनिबार बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ । मतदान सम्पन्न भएसँगै मतगणनाको प्रक्रिया सुरु हुनेछ । अध्यक्षबाहेक ४ उपाध्यक्ष, ३ महामन्त्री र १ सय ४१ जना केन्द्रीय सदस्य चयनका लागि विद्युतीय मेसिनबाट मतदान हुनेछ ।

सम्बन्धित समाचार