राजेन्द्र लिङ्देन र कमल थापाले दर्ता गरे राप्रपा अध्यक्षका लागि उम्मेदवारी

राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का नेता राजेन्द्र लिङ्देन र अध्यक्ष कमल थापाले अध्यक्ष पदका लागि उम्मेदवारी दिएका छन् । आज (शुक्रबार) दुबैले अध्यक्ष पदको लागि उम्मेदवारी दिएका हुन् ।

लिङ्देन पक्षका नेता-कार्यकर्ता बाजागाजासहित अध्यक्षमा उम्मेदवारी दिन राष्ट्रिय सभागृहमा पुगेका थिए । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को नयाँ नेतृत्वका लागि थापा र लिङ्देन प्यानलसहित चुनावी मैदानमा उत्रदै छन् । लिङ्देन उम्मेदवारी दिने वित्तिकै कमल थापाले पनि अध्यक्ष पदका लागि उम्मेदवारी दिएका हुन् । उनी पनि बाजागाजा र नेता–कार्यकर्तासहित राष्ट्रिय सभागृहमा उम्मेदवारी दर्ता गर्न पुगेका हुन् ।



यसैबीच थापा प्यानलबाट बुद्धिमान तामाङ, विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान उपाध्यक्षको उम्मेदवार बन्ने भएका छन् । यस्तै महिला उपाध्यक्षमा रोशन कार्की उम्मेदवार रहेकी छन्। महामन्त्रीमा भुवन पाठक, भास्कर भद्रा र कुन्ती शाहीको नाम टुंगो लागेको छ । त्यसैगरी लिङ्देन प्यानलबाट उपाध्यक्षमा विक्रम पाण्डे, दीलविकास राजभण्डारी, रामचन्द्र राय र लीला श्रेष्ठको नाम टुंगो लागेको छ भने महामन्त्रीमा डा धवल शम्शेर राणा, श्याम तिमिल्सिना र रेखा थापाको नाम टुंगो लागेको छ। विक्रम पाण्डेको नाम भने दुबै पक्षले प्यानलमा राखेका छन् ।

राप्रपाको नयाँ नेतृत्व चयनका लागि शनिबार बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ । मतदान सम्पन्न भएसँगै मतगणनाको प्रक्रिया सुरु हुनेछ । अध्यक्षबाहेक ४ उपाध्यक्ष, ३ महामन्त्री र १ सय ४१ जना केन्द्रीय सदस्य चयनका लागि विद्युतीय मेसिनबाट मतदान हुनेछ ।

 

सम्बन्धित समाचार