नवकान्तिपुर संवाददाता
काठमाडौं, १७ मंसिर ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को उपाध्यक्षमा ९ जनाले उम्मेदवारी दर्ता गरेका छन् । आज (शुक्रबार) राष्ट्रिय सभागृह पुगेर उनीहरुले उम्मेदवारी दर्ता गराएका हुन् ।
उपाध्यक्षमा उम्मेदवारी दिनेहरुमा रामचन्द्र राय, लिलादेवी श्रेष्ठ, रोशन कार्की, विक्रम पाण्डे, जगत प्रसाद गौचन, दिलविकास राजभण्डारी, दुर्गा श्रेष्ठ, बुद्धिमान तामाङ र ध्रुवबहादुर प्रधान रहेका छन् । त्यतै महामन्त्रीमा डा धवल शमशेर राणा, कुन्ती कुमारी शाही, भास्कर भद्रा, भुवन पाठक, श्याम तिमल्सिना र रेखा थापाको उम्मेदवारी परेको छ ।
यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्षमा कमल थापा र राजेन्द्र लिङ्नेदले उम्मेदवारी दर्ता गरेका थिए । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का लिङ्देन र थापाले आ-आफ्नो प्यानलसहित निर्वाचनमा उत्रेका छन् । थापा प्यानलबाट बुद्धिमान तामाङ, विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान उपाध्यक्षको उम्मेदवार बन्ने भएका छन् । यस्तै महिला उपाध्यक्षमा रोशन कार्की उम्मेदवार रहेकी छन्। महामन्त्रीमा भुवन पाठक, भास्कर भद्रा र कुन्ती शाहीको नाम टुंगो लागेको छ ।
त्यसैगरी लिङ्देन प्यानलबाट उपाध्यक्षमा विक्रम पाण्डे, दीलविकास राजभण्डारी, रामचन्द्र राय र लीला श्रेष्ठको नाम टुंगो लागेको छ भने महामन्त्रीमा डा धवल शम्शेर राणा, श्याम तिमिल्सिना र रेखा थापाको नाम टुंगो लागेको छ। विक्रम पाण्डेको नाम भने दुबै पक्षले प्यानलमा राखेका छन् । राप्रपाको नयाँ नेतृत्व चयनका लागि शनिबार बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुनेछ ।

