नवकान्तिपुर संवाददाता
काठमाडौं, १८ मंसिर ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सरकारमा आउन एक वर्ष पनि पर्खनु नपर्ने बताएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले ढिलोमा पनि एक वर्षभित्र मुलुकमा निर्वाचन हुने र त्यसपछि आफ्नो पार्टीले सरकार बनाउने जिकिर गरे ।
आज काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले आफ्नो पार्टी नेतृत्वको सरकार बनेपछि मुलुकमा पुनर्निर्माण र नवर्निर्माणको काम तीव्रताका साथ अघि बढाउने आश्वासनसमेत दिए । सम्पदाहरूको पुनर्निर्माण, राजमार्गलगायत पूर्वाधारको निर्माणकार्य देख्न नसक्नेहरूले आफूलाई सरकारबाट हटाएको उनले दोहोर्याए ।
मुलुकको विकास र समृद्धिको अभियानलाई निरन्तरता दिन एमालेलाई आगामी निर्वाचनमा विजयी गराउनुपर्ने उनको भनाइ छ । अध्यक्ष ओलीले मुलुक निर्माण गर्ने साझा उद्देश्य प्राप्तिका लागि आफ्नो पार्टीमा आउन अरू पार्टीका कार्यकर्ताहरूलाई आह्वान पनि गरे ।

