नवकान्तिपुर संवाददाता
काठमाडौं, १८ मंसिर ।

सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दलहरुबीचको सहमतीविना प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोग प्रस्ताव ल्याउने अवस्था नरहेको बताएका छन् । अध्यक्ष प्रचण्डले यही मंसिर २८ गते बोलाइएको संघीय संसदको हिउँदे अधिवेशनमा पनि राष्ट्रिय सहमती र दलहरुबीचको समझदारी नभई प्रधानन्यायाधीश जबराविरुद्धको महाअभियोग प्रस्ताव अघि बढने अवस्था नरहेको प्रष्टयाए ।
आज पार्टी निकट प्रेस सेन्टर नेपालको चितवनमा आयोजित चौंथो राष्ट्रिय महाधिवेशनमा बोल्दै उहाँले राजनीतिक दलहरुको सहमति र समझदारी नभई एमसीसीबारे संसदले निर्णय लिने अवस्था नरहेको पनि बताए । प्रधानन्यायाधीश जबराविरुद्ध संसदमा महाअभियोग लगाउने कुरा र एमसीसी पारित गर्ने कुरा दलहरुबीचको सहमतीमा मात्रै हुने अध्यक्ष दाहालको भनाइ थियो ।
अध्यक्ष प्रचण्डले मुलुकमा अझै प्रतिगमनको खतरा टरिनसकेको उल्लेख गर्दै त्यस विरुद्ध कलम चलाउन पनि पत्रकारहरुलाई आग्रह पनि गरे ।

