नवकान्तिपुर संवाददाता
काठमाडौं, १९ मंसिर ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को नयाँ नेतृत्वका लागि भएको चुनावमा राजेन्द्र लिङ्देन विजयी भएका छन् । प्रतिस्पर्धी कमल थापालाई दुई सय मतले हराउँदै लिङ्देन विजयी भएका हुन्।
लिङ्देनले १८ सय १७ मत पाए भने थापाले १६ सय १७ मत पाए । पदाधिकारीमा भने थापा पक्षको वर्चस्व छ । पार्टीको खुल्ला उपाध्यक्षमा विक्रम पाण्डे सर्वाधिक मत ल्याएर विजयी भएका छन् । उनले दुई हजार ५ सय २१ मत पाएका राप्रपाको निर्वाचन आयोगले जनाएको छ ।
यसैगरी कमल थापा प्यानलबाट उठेका बुद्धिमान तामाङ १ हजार ९ सय ४४ मत ल्याएर विजयी भए भने थापा प्यानलकै ध्रुवबहादुर प्रधान १ हजार ८ सय १४ मतसहित विजयी भए ।
महिला उपाध्यक्षमा पनि थापा पक्षकी रोशन कार्की विजयी भइन् । उनले १ हजार ६ सय ८९ मत पाइन् । महामन्त्रीको प्रतिस्पर्धामा थापा पक्षकै भुवन पाठक १ हजार ८ सय ५ मतसहित विजयी भए भने लिङ्देन पक्षका धवलशम्शेर राणाले सर्वाधिक २ हजार २ सय २१ मतसहित विजयी भए ।
यस्तै, महिला महामन्त्रीतर्फ भने कमल थापा समूहकी कुन्ती शाही विजयी भइन् । उनले दुई हजार ८ मत पाइन् । लिङ्देन पक्षकी रेखा थापा भने पराजित भइन् । थापाले १ हजार ६ सय ४० मत ल्याइन् ।

