आजदेखि बाघ गणना, गणकहरुलाई प्रतिव्यक्ति १० लाख रुपैयाँको बिमा

चितवन र पर्सा राष्ट्रिय निकुञ्जबाट आजदेखि राष्ट्रिय बाघ सर्वेक्षण सुरुआत हुँदैछ । चितवन, बर्दिया, पर्सा, शुक्लाफाँटा र बाँके राष्ट्रिय निकुञ्ज सहित र आसपासका वन क्षेत्रमा बाघ पाइन्छ । चितवन र पर्सा राष्ट्रिय निकुञ्जलाई एउटा ब्लक बनाएर सर्वेक्षण गरिँदै छ । देशैभरको सर्वेक्षणको शुभारम्भ चितवन राष्ट्रिय निकुञ्जको सौराहामा आज विशेष कार्यक्रमका बीच सुरु गर्न लागिएको हो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका महानिर्देशक डा रामचन्द्र कँडेलका अनुसार यही मङ्सिर २९ गतेबाट बर्दिया र बाँकेलाई समेटेर एउटा ब्लक बनाएर सर्वेक्षण गरिँदै छ । यहाँको टोलीले पहिलो दुई साता काम गरेपछि शुक्लाफाँटा र लालझाडी क्षेत्रमा सर्वेक्षण गर्ने छ ।



उनका अनुसार बाघ गणना सम्पन्न गर्न करिब रु चार करोड खर्च हुने अनुमान गरिएको छ । गणकको सुरक्षाका लागि विशेष ध्यान दिइएको उनले बताए । उनीहरुको प्रतिव्यक्ति रु १० लाखको बिमा गरिएको छ भने सुरक्षाका लागि निकुञ्ज सुरक्षार्थ नेपाली सेनासँगै रहने गरी व्यवस्था मिलाइएको उनले जानकारी दिए । सुरक्षित ठाउँ छनोट गरी क्याम्प खडा गर्न लगाइएको छ । तालिमका समयमा कसरी सुरक्षित भई काम गर्ने भन्ने विषयमा समेत विषेश प्रशिक्षण दिइएको छ ।

महानिर्देशक कँडेलका अनुसार वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादवसहितका उच्च अधिकारीहरूको उपस्थितिमा सर्वेक्षणको शुभारम्भ गरिँदै छ । सो अवसरमा वनसचिव डा पेमनारायण कँडेल, वन मन्त्रालयअन्तर्गत विभिन्न विभागका महानिर्देशक, बागमती प्रदेशका वनसचिव, मन्त्रालयका महाशाखा प्रमुख, साझेदार संस्थाका अधिकारीहरूको उपस्थितिमा कार्यक्रमको शुभारम्भ गरिने उनले जानकारी दिए।

बाघ गणना सुरु हुनुअघि दुई दिन गणनामा सहभागी हुनेहरूलाई तालिम दिइएको थियो । चितवन राष्ट्रिय निकुञ्जमा मात्र १२० प्राविधिक र सहयोगीहरुसँगै केही हात्ती गणनामा परिचालन हुनेछन् । निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार गणकहरू निकुञ्जभित्र आफ्नो कार्यक्षेत्रमा क्याम्प खडा गर्ने काम सुरु गरेका छन् ।

सम्बन्धित समाचार