नवकान्तिपुर संवाददाता
काठमाडौं, १९ मंसिर ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सम्पन्न एकता महाधिवेशनमा निर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देन र केन्द्रीय सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । आज (आइतबार)कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यको शपथ लिएका हुन् ।
कार्यक्रममा निर्वाचन समितिका संयोजक हरिबहादुर बस्नेतले लिङ्देनलगायत पदाधिकारीलाई पद तथा गोपनीयताको शपथ दिलाएका थिए । यस्तै केन्द्रीय सदस्यहरुलाई लिङ्देनले शपथ गराएका थिए । अध्यक्षमा पराजित कमल थापाले नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको शपथ ग्रहण समारोहमा गएका छैनन् ।
थापाले पार्टीको महाधिवेशनमा पूर्व राजा ज्ञानेन्द्र शाहले हस्तक्षेप गरेको आरोप लगाएका छन् । यद्यपि निवर्तमान अध्यक्षद्धय पशुपतिशम्शेर जबरा र डा. प्रकाशचन्द्र लोहनी भने कार्यक्रममा सहभागीता रहेको छ । महाधिवेशनबाट उपाध्यक्षमा बुद्धिमान तामाङ, विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान, रोशन कार्की तथा महामन्त्रीत्रयमा धवल शमशेर राणा, भुवन पाठक र कुन्तीकुमारी शाहीसहित १४९ केन्द्रीय सदस्य निर्वाचित भएका थिए ।
राष्ट्रियता, प्रजातन्त्र र उद्धारबादको नीतिअनुसार अघि बढेको राप्रपाले यो महाधिवेशनमार्फत नेतृत्वमा पुस्ता हस्तान्तरण गर्न सफल भएको छ ।

