नवकान्तिपुर संवाददाता
काठमाडौं, १९ मंसिर ।

नेकपा एमालेका सांसदसमेत रहेका नेता भीम रावलले प्रतिनिधि सभा अवरोध गर्नुको औचित्य नरहेको बताएका छन्। सरकारका सबै कामकारबाही अगाडि बढिरहेकोले संसद अवरूद्धको औचित्य नभएको उनको भनाइ छ। सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले यही मंसिर २८ गते संघीय संसदको दुबै सदनको अधिवेशन आह्वान गरेकी छन्।
प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार यही अवस्थामा संसद चल्न नसक्ने बताएका थिए। देश र जनताको पक्षमा बहस गर्ने ठाउँ संसद भएको उनको भनाइ छ। ‘संसद देश र जनताको पक्षमा बहस गर्ने र आवाज उठाउने थलो हो,’ आज ट्वीट गर्दै उनले भनेका छन्, ‘सरकारका सबै कामकारबाही हुन दिई संसद अवरूद्ध गरेको भन्नुको अौचित्य छैन।’
उनले सरकारले ल्याउने विधेयक र प्रस्ताव रोक्न सके मात्रै संसद अवरूद्धको औचित्य हुने पनि बताएका छन्। ‘कि सरकारले ल्याउने विधेयक र प्रस्ताव रोक्नसक्नु पर्यो नभए त्यसबारे जनताको आवाज उठाउन पाउनु पर्यो। अन्यथा म कुटे जस्तो गर्छु तँ रोए जस्तो गर भने झैं ठहर्छ,’ उनले भनेका छन्। तर अध्यक्ष ओलीले एमालेले कारबाही गरेका सांसदलाई संसदमा स्थान दिएसम्म संसदको अवरोध जारी नै रहने बताएका थिए।

