नवकान्तिपुर संवाददाता
काठमाडौं, १९ मंसिर ।

नेपाली कांग्रेस प्रदेश अधिवेशनको मतपरिणाम आउनेक्रम जारी छ । अधिवेशन भएका ६ वटा प्रदेशमध्ये ३ वटा प्रदेशको अन्तिम परिणाम आइसकेको छ । दुई प्रदेशमा मतगणना जारी छ भने एक प्रदेशमा पुनः मतदान भइरहेको छ ।
मतगणना जारी रहेका लुम्बिनी प्रदेश र प्रदेश १ मा पौडेल समूहले अग्रता लिएको छ । लुम्बिनीमा ६१५ मत गणना हुँदा सभापतिमा अमरसिंह पुन मगरले ३४४ र अर्का सभापतिका उम्मेदवार भरत कुमार शाह २१६ मत पाएका छन् । यो प्रदेशमा करिब ११ सय मत खसेको छ । यी दुई उम्मेदवारबीच मतान्तर १२८ को रहेको छ ।
पुन पौडेल समूहका हुन् भने शाह पार्टी सभापति शेरबहादुर देउवा समूहका हुन् । यस्तै प्रदेश एकमा सभापतिका उम्मेदवार पौडेल समूहका गुरुराज घिमिरेले सुरुआती अग्रता लिएका छन् । १६० सय मत गणना हुँदा घिमिरेले ८३ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी देउवा समूहका उद्धव थापाले ७० मत पाएका छन् । थापा सिटौला–देउवा समूहका उम्मेदवार हुन् ।
मतपरिणाम आएका तीन प्रदेश मध्ये २ प्रदेशमा देउवा समूहले जितेको छ भने एक प्रदेशमा पौडेल समूहले जितेको छ । सुदूरपश्चिम प्रदेशमा देउवा निकट विरबहादुर बलायर र कर्णालीमा ललितजंग शाहीले सभापतिमा जित हात पारेका छन् ।
बागमती प्रदेश सभापतिका लागि भएको दोस्रो चरणको मतदानको मतगणना सुरु गरिएको छ । हेटौँडामा आइतबार साढे १ बजेबाट सुरु भएको मतदान साँझ साढे पाँच बज सम्पन्न भएमा आवश्यक प्रक्रिया पुरा गरेर ७ बजेदेखि मतगणना सुरु गरिएको हो । निर्वाचन समितिका अनुसार बागमती प्रदेशमा २०२५ मत खसेको छ ।

