नवकान्तिपुर संवाददाता
काठमाडौं, २० मंसिर ।
चर्चित गायन रियालीटी शो ‘नेपाल आइडलको चौंथो सिजन’ यही मंसिर २३ बाट प्रसारण हुने भएको छ । एपीवान एचडीबाट प्रसारण हुँदै आएको रियालिटी शो नेपाल आइडल नेपालकै चर्चित रियालिटी शो मध्ये एक हो । शो राति ८ः ३० बजे एपीवान टेलिभिजनबाट प्रसारण हुने शोका निर्देशक लक्ष्मण पौडेल हुन् ।
‘नेपाल आइडल -४’ मा गायक तथा संगीतकार संगीतकार शम्भुजित बाँस्कोटा, गायक सुगम पोखरेल र गायिका शिवानी मोक्तान निर्णायक छन् । शोका होस्ट आसिफ शाहले सामाजिक सञ्जालमार्फत शो प्रसारण मिति सार्वजनिक गरेका हुन् । नेपालमा केही वर्ष यता गायन रियालिटी शो ‘नेपाल आइडल’, ‘भ्वाइस अफ नेपाल’ र ‘नेपाल लोक स्टार’ हुँदै आएको छ ।
अमेरिकन आइडलको फ्रेन्चाइज लिएर एपीवान टिभीले ३ वर्ष देखि नेपाल आइडल गायन प्रतियोगिता आयोजना गर्दै आएको छ । नेपाल आइडलको पहिलो विजेता पोखराका बुद्ध लामा भएका थिए भने दोस्रो विजेता सुदूरपश्चिमका रवि ओड भएका थिए । तेस्रो सिजनको उपाधि भने पहिलो पटक महिला प्रतिस्पर्धी सज्जा चौलगाँईले जितेकी थिइन् । तीन वटा संस्करण सफलतापूर्वक सम्पन्न भएको नेपाल आईडलको चौथो सिजन थप उत्साहपूर्ण हुने निर्माण पक्षको दाबी छ ।