नवकान्तिपुर संवाददाता
काठमाडौं, २१ मंसिर ।
पछिल्लो चौबीस घण्टामा नेपालमा ३१५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने २ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा ११ हजार ८१० जनाको नमूना परीक्षण गरिएको थियो । जसमा ९ हजार ३८६ जनाको पीसीआर परीक्षण गर्दा २७२ जना र दुई हजार ४२४ जनाको एन्टिजेन परीक्षण गर्दा ४३ जनामा कोरोना पुष्टि भएको हो ।
त्यस्तै, चौबीस घण्टामा कोरोनाका कारण २ जनाको मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या ११ हजार ५४५ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज ३०४ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ८ लाख ५ हजार २०५ जना पुगेको छ ।
नेपालमा हाल सक्रिय संक्रमितको संख्या ६ हजार ३५२ रहेको छ । जसमा ६ हजार १३ जना होम आइसोलेसनमा छन् भने ३३९ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै १२३ संक्रमित आईसीयूमा र ३० जना भेन्टिलेटरमा उपचाररत् छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ८ लाख २३ हजार १०२ र एन्टिजेन विधिबाट ९५ हजार ६६२ जना पुगेको छ ।