नवकान्तिपुर संवाददाता
काठमाडौं, २१ मंसिर ।

नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला १४ औँ महाधिवेशनमा सभापतिको दौडबाट बाहिरिएका छन्। सभापतिका अर्का दाबेदार एवम् पूर्वमहामन्त्री प्रकाशमान सिंह निवास चाक्सीबारीमा मंगलबार दिउँसोदेखि जारी इतर समूहको बैठकबाट निस्केर बोल्दै उनले यस्तो बताएका हुन्।
करिब ५ घण्टादेखि जारी इतर समूहको बैठकमा युवा र केन्द्रीय सदस्यहरुले मिलेर साझा उम्मेदवार तय गर्न दबाब दिएपछि शशांक सभापतिको दौडबाट बाहिरिएका हुन्। उनले वरिष्ठ नेता रामचन्द्र पौडेललाई सभापतिमा समर्थन गर्ने बताएका छन् ।
कोइरालाका अनुसार सभापतिका अन्य दुई दाबेदार शेखर कोइराला र प्रकाशमान सिंह मिलेर उठ्न तयार भएमा पौडेलले पनि दाबी छाड्न तयार भएका छन्। भोलि बिहानसम्म साझा उम्मेद्वार घोषणा गर्ने पौडेल पक्षको तयारी छ ।

