कांग्रेसको संस्थापन समूहको बैठकमा यी नेताले राखे विभिन्न पदमा उम्मेदवारी

लागेन पदाधिकारीको टुंगो

नेपाली कांग्रेसको संस्थापन समूहको बैठक सकिएको छ । आज(बुधबार) प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको निजि बूढानीलकण्ठमा भएको बैठकले पदाधिकारीमा उम्मेदवारीको टुंगो भने लगाउन सकेन ।

बैठकमा महाधिवेशनको तयारी, महाधिवेशनमा पदाधिकारीका उम्मेदवारीलगायत विषयमा छलफल भएपनि उम्मेदवारीको टुंगो भने लागेन । यद्यपि बैठकमा धारणा राख्ने क्रममा नेताहरुले आ–आफ्नो दावी प्रस्तुत गरेको एक नेताले बताए । सभापति देउवाले भने यसअघि नै सभापतिमा दोहोरिने तयारी गरिसकेका छन् । आकांक्षी धेरै भएपछि सहमति जुट्न नसकेको ति नेताले बताए ।



संस्थापन पक्षबाट महामन्त्रीमा डा.प्रकाशशरण महत, विश्वप्रकाश शर्मा, बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की र एनपी साउदले दावी गरेका थिए । त्यस्तै उपसभापति विजयकुमार गच्छदारले आफू सभापतिबाहेक दोस्रो पदका लागि दावेदार भएको बताए । यस्तै डिना उपाध्याय, पार्वता डिसी र अम्बिका बस्नेतले महिला सहमहामन्त्रीमा दावी प्रस्तुत गरेका थिए भने किशोर सिंह राठौरले खस आर्य सहमहामन्त्रीमा दाबी प्रस्तुत गरेका थिए । मधेशीबाट अजय चौरासिया र महेन्द्र यादवले पनि पदाधिकारीमा दावी गरेको संस्थापन पक्षका एक नेताले बताए ।

नयाँ कार्यकालका लागि काँग्रेस पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सह महामन्त्रीको निर्वाचन हुने र एक कोषाध्यक्ष निर्वाचित केन्द्रीय सदस्यबाट निर्वाचित हुने पार्टी विधानको प्रावधान छ । बैठक बिहीबार फेरि बस्ने गरी सकिएको छ ।

 

सम्बन्धित समाचार