राप्रपाको निर्वाचित केन्द्रीय कार्यसमितिको बैठकले गर्यो यस्तो निर्णय

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले स्थानीय तह निर्वाचन परिचालन समिति गठन गरेको छ । आज पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा बसेको राप्रपाको नवनिर्वाचित केन्द्रिय कार्य समितिको पहिलो बैठकले महामन्त्री भुवन पाठकको संयोजकत्वमा सो समिति गठन गर्ने निर्णय गरेको हो ।

आगामी स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै सो समिति गठन गरिएको पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले जानकारी दिए । बैठकले समान विधारधारा भएका व्यक्ति, पार्टी, धार्मिक संघ, संस्थासँग एकता र सहकार्यका लागि वार्ता गर्न अर्का महामन्त्री धवल शमशेर राणाको नेतृत्वमा वार्ता समिति समेत गठन गरेको छ ।



त्यसैगरी राप्रपाले नवनिर्वाचित पदाधिकारी तथा केन्द्रिय सदस्यहरुको मर्यादाक्रम निर्धारण गर्नका लागि उपाध्यक्ष धु्रवबहादुर प्रधान नेतृत्वको समिति गठन गरेको छ । अध्यक्ष लिङदेनले पार्टीका सबै भातृ संगठनहरुलाई १५ दिन भित्र ३ महिना भित्र अनिवार्य रुपमा आफ्नो महाधिवेशन सम्पन्न हुनेगरी कार्ययोजना तथा कार्यतालिका तय गरी पार्टीमा बुझाउन पनि निर्देशन दिइएको बताए ।

पुस महिना भित्र विस्तारित बैठक बोलाउन सबै प्रदेश समितिलाई निर्देशन दिने, राप्रपा छोडी निष्क्रिय भएका, विभिन्न पार्टीमा गएर भूमिकाविहीन भएकाहरुलाई पनि पार्टीका फर्की सक्रिय हुन पनि बैठकले आह्वान गरेको राप्रपाले जनाएको छ ।

सम्बन्धित समाचार