नवकान्तिपुर संवाददाता
काठमाडौं, २३ मंसिर ।

प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४औँ महाधिवेशनमा सहभागी हुन देशभरिबाट उत्साहपूर्वक काठमाडौँ आएका नेता, कार्यकर्ताहरूलाई यही उत्साह र ऊर्जालाई आगामी चुनावसम्मै लैजान आग्रह गरेका छन् ।
नेपाली काँग्रेसका सह महामन्त्री डा प्रकाशशरण महतद्वारा लिखित ‘नेपाली काँग्रेस एण्ड नेशन बिल्डिङ’ पुस्तकको आज काठमाडौँमा विमोचन गर्दै प्रधानमन्त्री देउवाले भने, ‘यो महाधिवेशनमा काँग्रेसका कार्यकर्तामा देखिएको ऊर्जालाई आगामी निर्वाचनसम्म लानुपर्छ र काँग्रेसलाई बहुमतप्राप्त पार्टी बनाउने कार्यमा तपाईँहरू सबै लाग्नुपर्छ ।’
पुस्तक विमोचन समारोहमा उपस्थित नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधिसँग उनले सकेसम्म सहमतिका आधारमा महाधिवेशनबाट नेतृत्व चयन गर्ने बताए । उनले भने, ‘सकेसम्म हामी सहमतिबाटै नेतृत्व चयन गर्नेछौँ नभए प्रजातान्त्रिक प्रक्रियाबाट प्रतिस्पर्धामा जाने हो । तर पनि प्रतिस्पर्धामा हुने जितहारलाई स्वाभाविक रूपमा लिएर कुनै पनि प्रकारको कटुता राख्नु हुँदैन । जित्नेले पनि हार्नेलाई समेट्नुपर्छ, हार्नेले पनि सहयोग गर्नुपर्छ, यसलाई प्रजातान्त्रिक प्रक्रियाका रूपमा लिनुपर्छ, कुनै पनि प्रकारको कटुता, मनोमालिन्य राख्नु हुँदैन, असहिष्णु बन्नु हुँदैन ।’
प्रधानमन्त्री देउवाले १४औँ महाधिवेशन नेपाली काँग्रेसका मात्र नभएर नेपालको प्रजातान्त्रिक भविष्यका लागि पनि एक महत्त्वपूर्ण अवसर भएको बताए। उनले भने, ‘महाधिवेशन सफल पारेर फर्किएर नेपाली काँग्रेसलाई बलियो बनाउने र अबका सबै निर्वाचनहरूमा बहुमत हासिल गर्ने बनाउन साथीहरू लाग्नुहुनेछ ।’
कार्यक्रममा प्रधानमन्त्री देउवाले सह महामन्त्री डा महतले बिपी कोइरालाको सरकारको अर्थव्यवस्थाका विषयमा पुस्तक लेखेर प्रशंसनीय काम गरेको बताए। उनले डा महतलाई मेहेनती र आफूले पाएको जिम्मेवारी इमानदारीपूर्वक पूरा गर्ने व्यक्ति भनेर टिप्पणी पनि गरे । सह महामन्त्री डा महतले लेखेको ‘नेपाली काँग्रेस र नेशन बिल्डिङ’ नामक पुस्तक बिपी कोइराला प्रधानमन्त्री रहेको नेपालको पहिलो जननिर्वाचित सरकारको अर्थव्यवस्थाका बारेमा रहेको छ । सोही विषयमा डा महतले त्रिभुवन विश्वविद्यालयमा अर्थशास्त्र विषयको स्नातकोत्तरको शोध तयार गरेको र यसै विषयको केही संशोधित सागम्रीसहित पुस्तकका रूपमा प्रकाशन गरेको डा महतले जानकारी दिए ।
उनले त्यस समयमा नेपाली काँग्रेस पार्टी प्रतिबन्धित रहेको र उक्त विषयमा शोध तयार गर्न पनि निकै कठिन अवस्था रहेको भए पनि आफूले बिपी कोइरालाले नेपालमा प्रजातान्त्रिक समाजवादको अवधारणा के कसरी भित्र्याउनुभएको थियो भन्ने विषयमा आफ्नो शोध केन्द्रित गरेको बताए ।
साथै त्यस समयमा समाजवादी विचारमा बिपी कोइरालाको सरकारले के–कस्तो अर्थनीति अँगाल्ने प्रयास गरेको थियो भन्नेबारेमा अनुसन्धान गर्न आफू इच्छुक रहेकाले सोही विषयमा शोध तयार पारेको र अहिले पनि समाजवादी अवधारणाको महत्त्व उत्तिकै रहेकाले पुस्तकका रूपमा प्रकाशन गरेको डा महतले बताए।
‘बिपी कोइराला स्कुल अफ पब्लिक पोलिसी’द्वारा प्रकाशित सो पुस्तकमाथि टिप्पणी गर्दै सो संस्थाका डा पोषराज पाण्डे र डा प्रभु बुढाथोकीले बिपी कोइरालाको पालामा रहेको नेपाली काँग्रेसको आर्थिक नीति नै आधुनिक नेपालको आर्थिक नीति रहेको कुरा सो पुस्तक पढेपछि थाहा हुने भन्दै नेपाली काँग्रेसको आर्थिक, सामाजिक नीतिका बारेमा यस पुस्तकले जानकारी दिने बताए ।

