नवकान्तिपुर संवाददाता
काठमाडौं, २३ मंसिर ।

नेकपा एमाले सचिव योगेश भट्टराईले वर्तमान गठबन्धन सरकारले राज्यका सबै निकायलाई ध्वस्त बनाएको आरोप लगाएका छन् । हेटौँडामा प्रेस चौतारीले विहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा भट्टराईले अहिलेको गठबन्धन सरकारले मुलुकको मुख्य अंग कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका सबैलाई अस्थिर बनाउँदै ध्वस्त बनाएको आरोप लगाएका हुन् ।
‘शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले कार्यपालिका भागबन्डामा गठन, कार्यपालिकाको सवालमा संसद्लाई बन्धक बनाइएको छ र न्यायपालिकालाई नांगेझार बनाएको छ,’ उनले भने, ‘न्यायपालिकाको इज्जत प्रतिष्ठालाई त अझ सरकारले पूरै सखाप बनाइसकेको छ ।’ उनले मुलुकका महत्वपूर्ण अंगलाई बचाउनका लागि पनि छिटोभन्दा छिटो जनादेशमा जान जरुरी रहेको दाबी गरे ।
नेकपा फुटेर एमाले, माओवादी आ–आफ्नो बाटोमा लागिसकेपछि एमालेलाई थप सुदृढ बनाउँदै अघि बढ्न सहज भएको भट्टराईको धारणा छ । उनले दुई पार्टीबीच मात्र नेपालमा प्रतिस्पर्धा हुने भएकाले अरू पार्टीहरू समाहित हुनेबाहेक विकल्प नरहेको बताए ।

