काँग्रेस महामन्त्रीमा आकांक्षीको लर्को, को को पर्लान् प्यानलमा ?

देउवा, पौडेल र सिटौला प्यानल घोषणा गर्न असफल

नेपाली काँग्रेसको १४ महाधिवेशनको आज उद्घाटन हुँदैछ । काठमाडौंको भृकुटीमण्डपमा हुने उद्घाटन समारोहलाई सबै दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ । महाधिवेशन शुरू हुँदासम्म संस्थापन र इतर दुबै पक्षले आफ्नो प्यानल घोषणा गर्न सकेका छैनन् । संस्थापनपक्षलाई पदाधिकारी र इतरपक्षलाई सभापतिको साझा उम्मेद्वार चयन गर्न फलामको चिउरा चपाएसरी भएको छ ।

पटकपटकको वार्तामा पनि सहमति नजुटेपछि पौडेल पक्षका दुई आकांक्षी प्रकाशमान सिंह र शेखर कोइराला सभापतिमैं मत माग्दै प्रचार प्रसारमा लागेका छन् । त्यसैगरी दुबैमा सहमति नजुटे माहोल आफ्नो पक्षमा आउने आशाका साथ रामचन्द्र पौडेलले युवा नेताहरूलाई सहमतिमा हस्तक्षेप गर्न आग्रह गरिरहेका छन् ।



सभापतिमै सहमति नजुट्दा यो समूहले अन्य पदाधिकारीको विषयमा छलफल गर्न पाएको छैन । तथापि नेताहरूले विभिन्न पदमा उम्मेद्वारी दिने भन्दै प्रचारमा लागेका छन् । यो समूहमै रहेका गगन थापाले हिजो महामन्त्रीमा उम्मेद्वारी घोषणा गर्दै प्रज्ञा भवनमा आफ्नो शक्ति प्रदर्शन गरे । थापा एक्लैले आयोजना गरेको कार्यक्रममा भएको नेता कार्यकताएको उपस्थितिले उनको समूहमात्र नभइ संस्थापन पक्षलाई पनि झस्क्याइदिएको छ ।

यता संस्थापन पक्ष पनि आकांक्षीको व्यवस्थापन गर्न नसक्दा अनिर्णयको बन्दी बनेको छ । सभापतिमा शेरबहादुर देउवालाई नै अघि सार्ने तय भए पनि पदाधिकारीमा भने कुनै पनि नेताको टुङ्गो लागेको छैन । काँग्रेसको पछिल्लो पटक संशोधन गरिएको विधानमा सभापतिसहित १४ पदाधिकारीको व्यवस्था छ, जसमा दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री र कोषाध्यक्ष हुनेछन् । तर गुट र उपगुटलाई व्यवस्थापन गर्नुपर्ने दवावको कारण देउवाले प्यानल घोषणा गर्न नसकेका हुन् ।

देउवाले तेस्रो धारको विकास गरिरहेका कृष्णप्रसाद सिटौलालाई मात्र होइन्, पदमा भागवण्डा नमिलेर असन्तुष्ट बन्ने पौडेल समूहलाई पनि आफ्नो प्यानलमा समावेश गर्ने रणनीतिको साथ प्यानल घोषणामा ढिलाई गरेको स्रोतको दाबी छ । आफ्नो पक्षलाई रूष्ट नबनाउने र इतरसमूहका रूष्ठ नेताहरूलाई आफ्नो कित्तामा तानेर पहिलो चरणको निर्वाचनमार्फत नै ५१ प्रतिशत कटाएर सभापतिमा दोहोरिने देउवाको मनसाय देखिन्छ । देउवाको यो योजनामा सभापतिमै उम्मेद्वारी घोषणा गरेर तयारी थालिरहेका विमलेन्द्र निधि भने बाधक देखिएका छन् ।

महामन्त्रीमा आकांक्षीको लर्को
कांग्रेसका युवा पुस्ताको आकर्षण महामन्त्रीमा देखिएको छ भने बुढा पुस्ताको आकर्षण उपसभापतिमा देखिएको छ । संस्थापन र इतर दुबै पक्षमा युवा नेता नै महामन्त्री पदका लागि बढी आकांक्षी छन् । सभापति देउवा पक्षबाट सहमहामन्त्री प्रकाशशरण महत, प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्यहरू बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, रमेश लेखक र एनपी साउदलगायतका नेताहरू महामन्त्रीमा दाबी गरिरहेका छन् ।

यता संस्थापन इतरबाट गगन थापा मुख्य दाबेदार देखिएका छन् । त्यसैगरी मीनेन्द्र रिजाल, चन्द्र भण्डारी, धनराज गुरूङ, बद्री पाण्डेलगायतका नेताहरूले महामन्त्रीमै आँखा लगाइरहेका छन् । नेता कृष्णप्रसाद सिटौला समूहबाट प्रदीप पौडेलले महामन्त्रीमा दाबी गर्दै आएका छन् । युवा पुस्तामा भिजेका नेताहरू बीच नै प्रतिष्पर्धा हुने देखिएको महामन्त्रीको भीडन्त महाधिवेशनमा रोचक हुने निश्चित छ ।।

सम्बन्धित समाचार