नवकान्तिपुर संवाददाता
काठमाडौं, २४ मंसिर ।
युरोपा लिग फुटबलमा इंग्लिस क्लब लेस्टर सिटी पराजित भएको छ । बिहीबार राति भएको खेलमा इटालियन क्लब नापोलीसँग ३-२ ले पराजित हुँदै लेस्टर प्रतियोगिताको समूह चरणबाटै बाहिरिएको हो ।
निकै प्रतिस्पर्धात्मक खेलमा खेलको चौंथो मिनेटमा नापोलीका एडम ओउनासलेले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यस्तै खेलको २४ औं मिनेटमा इलिफ इल्मासले गोल गर्दै नापोलीको अग्रता दोब्बर बनाए । तर, खेलको २७ औं मिनेटमा लेस्टरका जोनी इभान्सले गोल गर्दै खेललाई २-१ को स्थितिमा ल्याए । यस्तै खेलको ३३ औं मिनेटमा लेस्टरका ड्युसबरी हालले गोल गर्दै खेललाई बराबरीमा ल्याए ।
पहिलो हाफ २-२ को बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा व्यक्तिगत दोस्रो गोल गर्ने क्रममा खेलको ५३ औं मिनेटमा इलिफ इल्मासले गोल गर्दै नापोलीलाई ३-२ को जित दिलाए । जितसँगै नापोली ६ खेलमा १० अंक समूह ‘सी’ को उपविजेता बन्दै नकआउट चरणमा पुगेको छ भने समान खेलमा ८ अंक जोडेको लेस्टर तेस्रो स्थानमा रह्यो । त्यसैगरी यस समूहबाट स्पार्टक मस्को ६ खेलमा १० अंक जोड्दै समूह विजेता बन्दै अन्तिम १६ मा पुगेको छ ।