मिनेन्द्रले कांग्रेस नेतृत्वमा नयाँ अनुहार आउनुपर्छ भनेपछि…

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं रक्षामन्त्री डा मीनेन्द्र रिजालले पार्टीको १४औँ महाधिवेशनबाट कांग्रेस नेतृत्वमा नयाँ अनुहार आउनुपर्ने बताएका छन् । कांग्रेसको १४औँ महाधिवेशनको पूर्वसन्ध्यामा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले महाधिवेशनपछि नेतृत्वमा नयाँ अनुहार आउने बताएका हुन् ।

‘अहिलेको नेतृत्व लिएर निर्वाचनमा जाँदा जनताले नपत्याउन सक्छन्, पार्टीभित्र नयाँ अनुहार आउनुपर्छ’, उनले भने। संस्थापन इतर समूहबाट मन्त्री बनेका नेता रिजालले संस्थापन इतर नेताबाट साझा उम्मेदवार तय गरिने बताए । यसभन्दा पहिले केन्द्रीय सदस्य भइसकेकाले अब महामन्त्री पदमा उम्मेदवारी दिने सोच रहेको उनले उल्लेख गरे।



‘सभापतिको उम्मेदवारी नै तय भएको छैन, म कहाँ उठ्ने सिट खोजिरहेको छु’, उनले भने। आज बेलुकासम्म संस्थापन इतर समूहबाट साझा उम्मेदवार चयन गरिने मन्त्री रिजालले बताए । उनले भने, ‘देउवाको विकल्पमा लागेका छौं तर सहमति हुन सकेको छैन ।’ उनले वरिष्ठ नेता रामचन्द्र पौडेललाई सभापतिको उम्मेदवार बनाउने प्रयास भइरहेको बताए ।

सम्बन्धित समाचार