नवकान्तिपुर संवाददाता
काठमाडौं, २४ मंसिर ।

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ५ जना फेला परेका छन् । म्याग्दी, बेनी नगरपालिका-३ दुधेखोलास्थित भिरमा सोही नगरपालिका-२ बस्ने ५३ वर्षीय भिम बहादुर श्रेष्ठ बिहीबार मृत अवस्थामा फेला परेका हुन् ।
कात्तिक २० गतेदेखि बेपत्ता भएका उनको खोजी गर्ने क्रममा उक्त ठाउँमा शव फेला परेको हो । त्यस्तै स्याङ्जा, आँधीखोला गाउँपालिका-४ सरादी खोलामा पर्वत फलेबास नगरपालिका-१ सुन्दरीडाँडा बस्ने ४१ वर्षीय शालिकराम बिक बिहीबार मृत अवस्थामा फेला परेका छन् । यस्तै सल्यान, कपुरकोट गाउँपालिका-५ ओखरपाटास्थित गोरेटो बाटोमा सोही गाउँपालिका- ६ सिनबाँङ बस्ने १६ वर्षीय टेक बहादुर बोहरा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
सोही गाउँपालिका-५ ओखरपाटा बस्ने तिलक बहादुर बुढाको छोराको विवाहमा गएकोमा घर फर्की नआएको भन्ने खबर प्राप्त हुनासाथ अस्थाई प्रहरी पोष्ट रीमबाट खटिएको प्रहरी टोली र आफन्तले खोजी गर्ने क्रममा उक्त गोरेटो बाटोमा करिब ५० मिटर तल उनको शव फेला परेको हो । त्यसैगरी जाजरकोट, भेरी नगरपालिका-३ तल्लो थाप्लेस्थित खोल्सामा सोही नगरपालिका-३ स्यालाँ बस्ने ३४ वर्षीय लाल बहादुर थापा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
बुधबार साँझ घरबाट खलंगा बजार जान्छु भनी हिँडेका उनी फर्की नआएपछि खोजी गर्ने क्रममा उक्त खोल्सामा शव फेला परेको हो । यता उदयपुर, कटारी नगरपालिका-४ भु-गोल पार्कस्थित प्रकाश थापाको निर्माणाधिन घरमा हाल नाम, थर,वतन नखुलेको करिब ५० वर्षीय पुरुष बिहीबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
