नवकान्तिपुर संवाददाता
काठमाडौं, २४ मंसिर ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीले आफ्नो रोकिएको गति अगाडि बढाउनुपर्ने बताएका छन् । कांग्रेसको १४ औं महाधिवेशन उदघाटन समारोहलाई शुक्रबार काठमाडौंमा सम्बोधन गर्दै पौडेलले महाधिवेशनले रोकिएको गतिलाई अगाडि बढाउने विश्वास व्यक्त गरे । ‘कांग्रेसले नेताको मूल्यांकन गर्ने हैसियत राख्नुपर्छ,’ उनले भने, ‘विकृति र विसंगतिलाई मुक्त गर्दै अगाडि बढाउने काम गर्नुपर्नेछ ।’
पौडेलले महाधिवेशनबाट उज्वल भविष्यको बाटो तय हुने विश्वास व्यक्त गरे । उनले प्रतिपक्षबाट सामना गर्ने कांग्रेस बनाउन जरुरी रहेकोसमेत उल्लेख गरे ।
पौडेलले राजनीतिलाई सम्मानित गर्ने दायित्व पनि आफ्नो पार्टीसँग रहेको बताए । पूर्वाग्रह त्यागेर, नजिक टाढाबाट पर रहेर एकताका लागि काम गर्ने उनको भनाइ थियो।

