यी हुन् कांग्रेस सभापतिका ६ उम्मेद्वार, को कति शक्तिशाली ?

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सभापति पदका लागि ६ जनाले उम्मदवारी दर्ता गराएका छन्। निवर्तमान सभापति शेरबहादुर देउवा, डा शेखर कोइराला विमलेन्द्र निधि, प्रकाशमान सिंह, कल्याण गुरुङ र युवराज न्यौपानेले उम्मेदवारी दर्ता गराइसकेका छन्। महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि उम्मेदवारी मनोनयन गर्ने क्रममा नेताहरूले आ-आफ्नै टिम र प्यानल बनाएका छन्।

चन्द्र भण्डारी र धनराज गुरुङले उपसभापति पदमा उम्मेदवारी दर्ता गराएका छन्। यसअघि उपसभापतिमा नेता महेश आचार्य र सुजाता कोइरालाले पनि मनोनयन दर्ता गराएका थिए। त्यस्तै सहमहामन्त्रीमा रञ्जीत कर्ण, रामकृष्ण यादव, किशोरसिंह राठौर, कमला पन्त, जीवन परियार, विकास लामा र तेजुलाल चौधरीले पनि उम्मेदवारी दर्ता गराएका छन्।

बिहान १० बजेदेखि साँझ ५ बजेसम्म राष्ट्रियसभागृहमा सभापतिदेखि केन्द्रीय सदस्यसम्मको उम्मेदवारी मनोनयन दर्ता भएको हो। मनोनयनमाथिको दाबी विरोध र नाम फिर्ताका लागि आइतबार दिउँसो १ बजे सम्मको समय तोकिएको छ। आइतबार अन्तिम नामावली प्रकाशन गरेपछि २७ गते सोमबार बिहान ८ बजे देखि मतदान सुरु हुनेछ।

इतरसमूह तित्तरवित्तर हुँदा संस्थापन पक्ष बलियो देखिएको छ । नेपाली कांग्रेसको विधानअनुसार १६७ सदस्यीय केन्द्रीय कार्यसमिति हुन्छ, जसमा १४औँ महाधिवेशनले १३४ जनालाई निर्वाचित गर्नेछ।

सभापति एक, उपसभापति दुई, महामन्त्री दुई र सहमहामन्त्री आठ पदका लागि निर्वाचन हुनेछ। केन्द्रीय कार्यसमितिमा निर्वाचित एक सदस्यलाई सभापतिको प्रस्तावमा कोषाध्यक्षमा मनोनीत गर्ने व्यवस्था कांग्रेसको विधानमा छ। सभापतिले ३३ जना केन्द्रीय सदस्य मनोनीत गर्न पाउने व्यवस्था छ।

सम्बन्धित समाचार