नवकान्तिपुर संवाददाता
काठमाडौं, २६ मंसिर ।
अमेरिकाको दक्षिणपूर्वी राज्य केन्टकीमा आएको विनासकारी आँधीले पुर्याएको क्षतिबाट प्रभावितलाई सरकारले सकेजति सहयोग गर्ने राष्ट्रपति जो बाइडनले बताएका छन् । आँधीबाट ठूलो जनधनको क्षति भएपछि राष्ट्रपति बाइडनले विपद् संकटकालको घोषणा गर्दै प्रभावित राज्यहरुका लागि सहयोग कोष जारी गरेका छन्।
शुक्रबार रातिबाट शुरु भएको आँधीका कारण हालसम्म ७० जनाभन्दा बढीको मृत्यु भइसकेको छ । मैनबत्ती कारखानामा कयौं कामदार फसेकाले मृतकको संख्या १ सय नाघ्न सक्ने अनुमान गरिएको छ । मेफिल्डको मैनबत्ती कारखानामा रहेका १ सय १० जना कामदार मध्ये ४० जानको उद्दार गरिएको छ । आँधीका कारण कारखानामा फसेका कामदारको खोजीमा आपतकालीन टोली नै खटाइएको छ ।
आँधीका कारण दशौं हजार मानिस पानी र विद्युत सेवाबाट वञ्चित भएका छन् । केन्टकीका धेरै काउन्टीहरू राज्यबाट ३०० किलोमिटरकाभन्दा बढी क्षेत्रमा फैलिएको आँधीका कारण क्षतिग्रस्त भएका छन् ।