नवकान्तिपुर संवाददाता
काठमाडौं, २६ मंसिर ।

लामो प्रयासमा पनि आफूले अगुवाइ गरेको समूह मनाउन नसक्दा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल सभापतिको दौडबाट बाहिरिए। महामन्त्री डा। शशांक कोइराला, प्रकाशमान सिंह र डा शेखर कोइरालालाई मनाएर आफू साझा उम्मेद्वार बन्ने धोको थियो वरिष्ठ नेता पौडेलको। तर लामो समयको प्रयासमा पनि उनी सफल हुन सकेनन्।
चाक्सीबारी भेलामा उनले धम्क्याएको कुरातिरै अगाडि बढेका छन् पौडेल। मंसिर २२ गते प्रकाशमान निवास चाक्सीबारीमा बसेको बैठकमा पौडेलले संस्थापन इतरका नेताहरुलाई सहमति नभए आफूलाई पार्टीबाट बिदा दिन भनेका थिए। १४औं महाधिवेशन चल्दै गर्दा सिन लगभग त्यस्तै देखियो।
पौडेलले १३औं महाधिवेशनबाट चुनिएको कार्यसमितिको अन्तिम बैठकमा गएनन्। त्यसपछि उनी शुक्रबार महाधिवेशन उद्घाटनमा पनि नआउने मनस्थितिमा पुगेका थिए। नेताहरुको दबाबका कारण उनी उद्घाटनस्थल आइपुगेको बोहोराटार स्रोतले जनायो।
नेता पौडेलले सर्वसम्मत उम्मेद्वार बनाउन निकै प्रयास गरेका थिए। त्यसमा डा शशांक र डा शेखर केही लचक पनि भएका थिए। तर प्रकाशमानले भने पौडेललाई यसअघि नै अवसर छाडिसकेकाले यसपटक छाड्न नसकिने अडान दोहोर्याए। तेहेर्याए। नमिली गए शेरबहादुर देउवालाई हराउन सकिन्न भन्ने यो समूहको स्पष्ट आकलन थियो। त्यसैले प्रकाशमानसँग कुरा नमिलेपछि पछि हटे पौडेल।

