नवकान्तिपुर संवाददाता
काठमाडौं, २६ मंसिर ।
मुक्तिनाथ विकास बैंकले यही मंसिर २५ गतेका दिन पोखरामा आफ्नो पन्ध्रौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । उक्त साधारण सभाले आ.व. २०७७-०७८ को वार्षिक प्रतिवेदन, आव २०७८-०७९ को लागि लेखापरीक्षकको नियुक्ति लगायतका सामान्य प्रस्तावहरू सहित आ.व. ०७७-०७८ को मुनाफाबाट सेयरधनीहरूलाई १८.५० प्रतिशत लाभांस प्रदान गर्ने प्रस्ताव पनि पारित गरेको छ । उक्त लाभांसमध्ये १७.५७५ प्रतिशत बोनस सेयर रहने छ भने बाँकी कर प्रयोजनको लागि नगद लाभांस हुने बैंकले जनाएको छ ।
बैंकका सञ्चालक समितिका अध्यक्ष भरतराज ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बैंकका सञ्चालक समितिका सदस्य गजेन्द्रमान श्रेष्ठले स्वागत मन्तब्य राखेका थिए भने प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बैंकको हालको अवस्थाको बारेमा जानकारी प्रस्तुत गरेका थिए ।
साधारण सभामा अध्यक्षले सञ्चालक समितिको तर्फबाट आ.व. २०७७-०७८ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उक्त प्रतिवेदन उपर सेयरधनीहरूबाट सल्लाह सुझाव र जिज्ञासाहरू आएका थिए । सेयरधनीहरूबाट आएका जिज्ञासाहरूको सम्बन्धमा अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतले प्रष्ट पारेको विज्ञप्तिमा उल्लेख छ ।