नवकान्तिपुर संवाददाता
काठमाडौं, २६ मंसिर ।

नेपाली कांग्रेसका सभापतिका उम्मेद्वार विमलेन्द्र निधिले दोस्रो चरणको चुनाव हुने बताएका छन् । आज (आइतबार) भृकुटीमण्डपमा पत्रकारसँग कुराकानी गर्दै निधिले सभापतिमा पहिलो चरणमा कोही पनि विजयी नहुने बताएका हुन् ।
पहिलो चरणमा नतिजा नआउने भन्दै दोस्रो चरणको चुनावमा आफूले शेरबहादुर देउवालाई समर्थन नगर्ने घोषणा गरेका छन् । निधिले भने, ‘धेरै उम्मेद्वार भएकाले पहिलो चरणमा कसैले पनि ५० प्रतिशतभन्दा बढी मत ल्याउदैनन् । त्यसपछि दोस्रो चरणमा सभापति पदका लागि चुनाव हुन्छ । त्यसबेला दोस्रो चरणमा आफू, प्रकाशमान सिंह र शेखर कोइरला एक हुन्छौं र देउवाविरुद्ध मोर्चाबन्दी गर्छौं ।’
कांग्रेसको सभापतिमा जित हासिल गर्न खसेको कुल मतको ५१ प्रतिशत मत ल्याउनुपर्नेछ । अब कांग्रेस सभापतिमा पाँच जनाबीच प्रतिस्पर्धा हुने भएको छ । आज सभापतिका प्रत्यासी युवराज न्यौपानेले उम्मेदवारी दर्ता फिर्ता गरेसँगै अब सभापतिमा शेरबहादुर देउवा, प्रकाशमान सिंह, शेखर कोइराला, कल्याण गुरुङ र विमलेन्द्र निधिबीच प्रतिस्पर्धा हुनेछ । त्यस्तै निधिले रामचन्द्र पौडेललाई सर्वसम्मत रुपमा अध्यक्ष बनाउन आग्रह गरे पनि सभापति शेरबहादुर देउवाले नमानेको बताए । पछिल्लो समय निधि र देउवाको सम्बन्ध चिसिएको छ ।
नेपाली कांग्रेसको विधानअनुसार सभापतिको उम्मेदवारले जित हात पार्न ५१ प्रतिशत मत ल्याउनुपर्छ । कसैले पनि ५० प्रतिशत मत नल्याए दोस्रो चरणमा पहिलो र दोस्रो हुने दुई उम्मेदवारबीच पुनः मतदान गर्ने विधानमा व्यवस्था छ ।

