नवकान्तिपुर संवाददाता
काठमाडौं, २८ मंसिर ।

प्रतिनिधिसभाको बैठक सुरु भएको छ । संघीय संसद् भवन नयाँ वानेश्वरमा बसेको बैठक दिउँसो २ बजेदेखि सुरु भएको हो । बैठक सुरु हुने वित्तिकै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गर्दै नाराबाजी सुरु गरेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आज दिउँसो २ बजे बस्नेगरी प्रतिनिधिसभा र राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेकी थिइन् । अधिवेशनअन्तर्गत प्रतिनिधिसभाको पहिलो बैठकमा आज सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८ सहित विभिन्न पाँच अध्यादेश पेश गर्ने कार्यसूची रहेको छ । संसद् सचिवालयका अनुसार बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण, समन्वय), पहिलो संशोधन अध्यादेश–२०७८, तेजाब तथा घातक रसायनिक पदार्थ नियमन, अध्यादेश–२०७८ र सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश–२०७८ पेश गर्नेछन ।
बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश–२०७८ र फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश–२०७८ पेश गर्ने सम्भावित कार्यसूची रहेको छ । बैठकमा राष्ट्रपतिबाट अधिवेशन आह्वानसम्बन्त्री पत्र पढेर सुनाउने र सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यको नामावली मनोनयन बैठकको प्रारम्भमा हुनेछ ।
गत जेठ ७ गते मध्यरातमा भएको विघटनको निर्णय सर्वोच्च अदालतले उल्टाएपछि प्रतिनिधि सभाको तेस्रो अधिवेशन सुरु हुन लागेको हो । यसअघि नवौं अधिवेशनका सबैजसो बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध पुर्याउँदै आएको थियो ।
भिडियो-
भिडियो साभार – House of Representative Nepal प्रतिनिधि सभा नेपाल

