नवकान्तिपुर संवाददाता
काठमाडौं, २८ मंसिर ।

नेपाली कांग्रेसका सभापतिका उम्मेदवार डा शेखर कोइरालाले दोस्रो चरणको निर्वाचनमा जाने बताएका छन् । आज(मंगलबार) दोस्रो चरणको निर्वाचन अघि आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।
निर्वाचनमा जाने घोषणा गर्ने क्रममा कोइरालाले महाधिवेशन प्रतिनिधिहरू आफैमा नेता भएकाले उनीहरूले दोस्रो चरणको मतदानमा आफ्नो विवेक प्रयोग गर्ने विश्वास व्यक्त गरे । त्यस्तै उनले दोस्रो चरणमा परिणाम जस्तोसुकै आए पनि आफू त्यसलाई स्वीकार्न तयार रहेको बताएका छन् । उनले भने, ‘आफ्नो विवेक प्रयोग गर्नुस्, आफ्नो अन्तर आत्माले के भन्छ, त्यो भोटमा प्रतिविम्बित गर्नुस् ।’
कोइरालाले भोट हाल्दा गुट, उपगुट बिर्सेर विवेक प्रयोग गर्न आग्रह गरे । ‘निर्वाचनपछि फेरि पनि नेपाली कांग्रेसभित्रको बृहत्तर एकताको पक्षमा म रहने नै छु । म मेरो देश, नेपाली जनता र लोकतन्तको सुनिश्चितता र आगामी पुस्ताका लागि समग्र जीवन आहूति गर्न चाहन्छु ’ कोइरालाले भने । सभापतिका कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि अहिले दिउँसो साढे ३ बजेबाट दोस्रो चरणको मतदान हुँदैछ ।
पहिलो चरणको मतदानमा प्रधानमन्त्री एवं वर्तमान सभापति देउवाले दुई हजार २५८ उनका निकटतम प्रतिद्वन्द्वी पार्टीका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले एक हजार ७०२ मत प्राप्त गरेका थिए । सभापतिका अन्य प्रत्यासी पूर्व महामन्त्री सिंहले ३७१, उपसभापति विमलेन्द्र निधिले २५०, र कल्याण गुरूङले २२ मत प्राप्त गरेका थिए । यता दोस्रो चरणको निर्वाचनमा सभापतिका अन्य प्रत्यासी प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले देउवालाई समर्थन गर्ने घोषणा गरिसकेका छन् ।

