नवकान्तिपुर संवाददाता
काठमाडौं, २८ मंसिर ।

नेपाली काँग्रेसको सभापतिका उम्मेदवार तथा प्रधानमन्त्री शेरबहादुर देउवा र महामन्त्री शशांक कोइरालाबीच भेटवार्ता भएको छ । आज (मंगलबार) प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो ।
देउवाले शशांकलाई दोस्रो चरणको निर्वाचनमा आफूलाई समर्थन गर्न आग्रह गरेका थिए । तर, शशांकले देउवालाई पार्टीलाई मिलाएर अगाडी बढ्न आग्रह गरे । उनले आफू पार्टी एकताको पक्षमा रहेको भन्दै कसैको पक्षमा खुल्न नसक्ने बताए । देउवाले सहयोगका लागि आग्रह गरेपनि महामन्त्रीले आफू कसैको पक्षमा खुल्न नसक्ने धारणा राखेको बालुवाटारबाट स्रोतले बताएको छ ।
दोस्रो चरणको निर्वाचनमा देउवा र शेखर कोइरालाबीच सभापतिको लागि प्रतिस्पर्धा हुँदैछ । यस अघि दोस्रो चरणको निर्वाचनमा देउवालाई सभापतिका अन्य प्रत्यासी प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले देउवालाई समर्थन गर्ने घोषणा गरिसकेका छन् ।

