दोस्रो चरणको निर्वाचन सुरु

देउवाले हाले भोट

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सभापति पदमा दोस्रो चरणको निर्वाचन सुरु भएको छ । सोमबार भएको निर्वाचनमा सभापति पदमा प्रत्यासी कसैको पनि ५१ प्रतिशत मत नपुगेपछि सभापति पदको लागि पुन: निर्वाचन भएको हो । दोस्रो चरणको निर्वाचनमा देउवा र शेखर कोइरालाबीच सभापतिको लागि प्रतिस्पर्धा हुँदैछ ।

मतदान राष्ट्रिय सभागृह र भृकुटीमण्डपमा अपराह्न चार बजेदेखि सुरु भएको छ । काठमाडौँको राष्ट्रियसभा गृहमा कायम गरिएको मतदानस्थलमा सभापतिका दुवै प्रत्यासी प्रधानमन्त्री देउवा र नेता कोइराला मतदान स्थलमा उपस्थित छन् । यसैबीच सभापतिका उम्मेदवार प्रधानमन्त्री देउवाले मतदान गरेका छन् । त्यस्तै दोस्रो चरणको निर्वाचनमा देउवालाई सभापतिका अन्य प्रत्यासी प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले देउवालाई समर्थन गर्ने घोषणा गरिसकेका छन् ।



पहिलो चरणको मतदानमा प्रधानमन्त्री एवं वर्तमान सभापति देउवाले दुई हजार २५८ उनका निकटतम प्रतिद्वन्द्वी पार्टीका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले एक हजार ७०२ मत प्राप्त गरेका थिए । सभापतिका अन्य प्रत्यासी पूर्व महामन्त्री सिंहले ३७१, उपसभापति विमलेन्द्र निधिले २५०, र कल्याण गुरूङले २२ मत प्राप्त गरेका थिए । सोमबार बिहानदेखि रातिसम्म भएको मतदानमा जम्मा चार हजार ७४३ मतदातामध्ये चार हजार ६७९ मतदाताले मतदान गरेका थिए ।

सम्बन्धित समाचार