नवकान्तिपुर संवाददाता
काठमाडौं, २८ मंसिर ।
पछिल्लो चौबीस घण्टामा नेपालमा २६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने २ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा १३ हजार ७०९ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा ९ हजार ३९२ जनाको पीसीआर परीक्षण गर्दा २२९ जना र चार हजार ३१७ जनाको एन्टिजेन परीक्षण गर्दा ३५ जनामा कोरोना पुष्टि भएको हो ।
त्यस्तै, चौबीस घण्टामा कोरोनाका कारण २ जनाको मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या ११ हजार ५५९ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज ३६२ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ८ लाख ७ हजार ५१६ जना पुगेको छ ।
नेपालमा हाल सक्रिय संक्रमितको संख्या ५ हजार ६८९ रहेको छ । जसमा ५ हजार ३८६ जना होम आइसोलेसनमा छन् भने ३०३ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै १२० संक्रमित आईसीयूमा र २७ जना भेन्टिलेटरमा उपचाररत् छन् । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट ८ लाख २४ हजार ७६४ र एन्टिजेन विधिबाट ९५ हजार ८४५ जना पुगेको छ ।