नवकान्तिपुर संवाददाता
काठमाडौं, २९ मंसिर ।

नेपाली कांग्रेसका नेता गगन थापाले पार्टी सभापतिमा शेरबहादुर देउवा सभापतिमा निर्वाचित भएकोमा बधाई दिएका छन् । आज (बुधबार) एक ट्विट गर्दै थापाले देउवालाई बधाई दिएका हुन् ।
त्यस्तै थापाले आम कांग्रेसजनको एकताको अपेक्षालाई आत्मसात गर्दै देउवाले पार्टीलाई थिति र विधिमा चलाउने परम्पराको सुरुवात गर्ने अपेक्षा व्यक्त गरेका छन् । यस्तै थापाले समुन्नत नेपालको अभियान र पार्टी रुपान्तरणका मुद्दामा सहकार्य हुने प्रतिबद्धता पनि जनाएका छन् । नेता थापा कांग्रेसको १४औँ महाधिवेशनमा डा.शेखर कोइरालाको प्यानलबाट महामन्त्रीका उम्मेदवार बनेका छन् ।
गगनले ट्विटरमा लेखेका छन्, ‘आदरणीय @SherBDeubaज्यू,पुन: सभापतिमा निर्वाचित हुनुभएकोमा हार्दिक बधाई! आम कांग्रेसजनको एकताको अपेक्षालाई आत्मसात गर्दै पार्टीलाई थिति र विधिमा चलाउने परम्पराको शुरुआत गर्नु हुनेछ भन्ने अपेक्षा गर्छु।समुन्नत नेपालको अभियान र पार्टी रुपान्तरणका मुद्दामा सहकार्य हुने नै छ।’
त्यस्तै जनता समाजवादी पार्टी (जसपा) नेपाल संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले पनि नेपाली कांग्रेसको सभापतिमा निर्वाचित भएको प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिएका छन् । आज एक ट्विट गर्दै भट्टराईले अग्रगमनकारी शक्तिबीच एकता होस् भनेर पनि कामना गरेका छन् ।
भट्टराईले देउवाको नेतृत्वमा लोकतान्त्रिक गणतन्त्र मजबुत होस् भनेर समेत शुभकामना दिएका छन् । त्यस्तै भट्टराईले नेतृत्वमा संघीय लोकतान्त्रिक गणतन्त्र मजबुत होस्, प्रतिगमनकारी शक्तिले टाउको उठाउन नपाउन्, अग्रगमनकारी शक्तिबीच एकता होस् भन्दै शुभेच्छा व्यक्त गरेका छन् ।
भट्टराईले ट्विटरमा लेखेका छन्, ‘नेपाली कांग्रेसको १४औं महाधिवेसनबाट पार्टी सभापतिमा पुन: निर्वाचित हुनुभएकोमा प्रम @SherBDeubaलाई हार्दिक वधाइ तथा सफल कार्यकालको शुभकामना! वहाॅको नेतृत्वमा संघीय लोकतान्त्रिक गणतन्त्र मजबुत होस्; प्रतिगमनकारी शक्तिले टाउको उठाउन नपाउन्;अग्रगमनकारी शक्तिबीच एकता होस्;थप शुभेच्छा!’
गगनको ट्विट :
भट्टराईको ट्विट :

