देउवालाई बधाई दिँदै पौडेलले निकाले यस्तो विज्ञप्ति (विज्ञप्तिसहित)

नेपाली कांग्रेसको सभापतिमा निर्वाचित शेरबहादुर देउवालाई नेता रामचन्द्र पौडेलले बधाई दिएका छन् । पौडेलले देशलाई अस्थिरताबाट जोगाउन एकताबद्ध कांग्रेसको आवश्यकता रहेको भन्दै बधाई दिएका हुन् ।

आज (बुधबार) एक विज्ञप्ति निकाल्दै पौडेलले देशलाई अस्थिरता र अधोगतितिर धकेल्ने प्रपञ्च भइरहेकाले संकटबाट देशलाई पार लगाउन एकताबद्ध र सुदृढ कांग्रेसको आवश्यकता रहेको बताएका हुन् । ‘हामी राष्ट्रिय जीवन र पार्टी जीवनको इतिहासको अत्यन्तै गम्भीर मोडमा छौ । एकातिर सात दशक लामो संघर्षबाट नेपाली जनताले स्थापित गरेको लोकतन्त्र र संविधान सभा मार्फत जारी संविधान अहिले पनि खतरामुक्त भइसकेको छैन भने अर्कातिर नेपाललाई अस्थीरता र अधोगतितिर धकेल्ने प्रपञ्च जारी छन्’ विज्ञप्तिमा उल्लेख छ ।



नेता पौडेलले जारी गरेको विज्ञप्ति
नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट पार्टी सभापतिमा निर्वाचित हुनु भएकोमा श्री शेरबहादुर देउवालाई म हार्दिक बधाई ज्ञापन गर्दछ । साथै, सफल कार्यकालका लागि शुभकामना व्यक्त गर्दछ ।

हामी राष्ट्रिय जीवन र पार्टी जीवनको इतिहासको अत्यन्तै गम्भीर मोडमा छौ । एकातिर सात दशक लामो संघर्षबाट नेपाली जनताले स्थापित गरेको लोकतन्त्र र संविधान सभा मार्फत जारी संविधान अहिले पनि खतरामुक्त भइसकेको छैन भने अर्कातिर नेपाललाई अस्थीरता र अधोगतितिर धकेल्ने प्रपञ्च जारी छन् । यी दुवै संकटबाट देशलाई पार लगाउनका लागि एकताबद्ध र सुदृढ नेपाली कांग्रेस आजको आवश्यकता हो । सबैलाई समेटेर सशक्त र एकताबद्ध कांग्रेस निर्माणमा सभापतिको ध्यान पुगोस् अनि लोकतन्त्रको रक्षा र सुशासन दिन सफलता मिलोस् । जय नेपाल ।

मितिः २०७८\९\२९
रामचन्द्र पौडेल

सम्बन्धित समाचार