श्रीलंकाको पोस्टमा नेपालको आधा दर्जन गोल

साफ यू-१९ महिला फुटबल च्याम्पियनसिपको दोस्रो खेलमा नेपाल विजयी भएको छ । आज भएको खेलमा नेपालले श्रीलंकालाई ६-० ले पराजित गरेको हो ।

बंगलादेशको ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा भएको एकतर्फी खेलमा खेलको पाँचौ मिनेटमा रश्मी कुमारी घिसिङले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् । त्यस्तै खेलको सातौं मिनेटमा सबिता राना मगरले गोल गर्दै नेपालको अग्रता दोब्बर बनाइन् । खेलको ४३ औं मिनेटमा मेनुका कुमारी आले मगरले गोल गर्दै नेपालको अग्रता ३-० मा पुर्याइन् । पहिलो हाफ ३-० मा सकिएको खेलमा दोस्रो हाफमा नेपालले थप ३ गोल गर्यो ।



दोस्रो हाफको ४८ औं मिनेटमा रजनीले गोल गर्दै नेपाललाई ४-० को अग्रता दिलाईन् । त्यसैगरी खेलको ५३ औं मिनेटमा सलोनीले गोलबाट नेपाल ५-० ले अघि रह्यो । त्यसपछि व्यक्तिगत दोस्रो गोल गर्ने क्रममा खेलको ८५ औं मिनेटमा रश्मीले गोल गर्दै नेपाललाई ६-० को शानदार जित दिलाईन् ।

पहिलो खेलमा आयोजक बंगलादेशसँग गोलरहित बराबरी खेलेको नेपालले अब नेपालले तेस्रो खेल शुक्रबार भुटानसँग र अन्तिम खेल आइतबार भारतसँग खेल्नेछ । राउन्ड रोबिनको आधारमा हुने प्रतियोगितामा पाँच टिमको सहभागिता रहेको छ । प्रतियोगितामा आयोजक बंगलादेशसहित नेपाल, भुटान, भारत र श्रीलंकाले सहभागिता जनाएका छन् । प्रतियोगिताको शीर्ष दुई टोली फाइनलमा प्रवेश गर्ने छन् ।

 

सम्बन्धित समाचार